उनान्चालिस साल भदौ तिर होला पश्चिम नेपाल बाट एक कमरेड बिरामी भएर उपचार गर्न काठमाडौ आउनु भएको थियो। पार्टीले उहालाई हाम्रो कोठामा बस्ने ब्यवस्था गर्यो। दिनभर सबै आ आफ्नो काममा जाने हुदा सबैको भेटघाट साँझमा मात्रै हुन्थ्यो। त्यो बेला खाना पकाउन मट्टीतेलको स्टोभ हुन्थ्यो। एक खाले सलेदो भएको र अर्को खाले हावा भरेर बल्ने। हाम्रोमा दुबै खाले थियो। हाम्रो कोठा बस्ने र उपचार गर्ने कमरेड गरेर ६ जना थ्यौ। कोहि तरकारी काट्न, कोहि खाना बसाउन कोहि स्टोभ बाल्न काममा जुट्थे। एक घन्टामा खाना खाएर भाडा माझी सकिन्थ्यो। खाएको थाल आ आफै माझ्ने हुन्थ्यो। अरु पालै पालो। सुत्नु भन्दा अघि एक छिन ख्याल ठट्टा गरिन्थ्यो। उपचाररत कमरेड कविता सुनाउनु हुन्थ्यो। खरो प्रतिकात्मक क्रान्तिकारी कविता भनेर सबैलाई स्तब्ध पार्नु हुन्थ्यो। उहाँ हामी भन्दा अलि उमेर खाएको परिपक्वता हासिल गरेको जोश जागर भरिएको जोसिलो युवा हुनुहुन्थ्यो।

वहाँलाई अभागी कमरेड भन्थे।नाम वा टाइटल अभागी रहेछ। झन्डै दुई हप्ता बसेर उहाँ आफ्नो कार्यक्षेत्र फर्कनु भयो। फर्किने समय मैले नै वहाँलाई हाल रत्नपार्कको बस स्टेसन लगेर भैरहवा जाने बस चडाएर बिदा गरे। गज्जबले दर्बोलो हात मिलाएर फेरि भेट हुने भन्दै म क्षेत्रपाटी आफ्नो डेरा फर्किए पार्टीले मलाई अलि अफ्ट्यारो काम जिम्मा दिने गर्थ्यो। कमरेड सुरेन्द्र पाण्डे र म मजदुर फाटमा काम गर्दै थियौ। लगभग माघ १५ तिर पार्टी दस्तावेज , पोस्टर पम्प्लेटहरु लिएर पश्चिम नेपाल जानू पर्ने कुरो आयो। काला ठुला लामा झोला दुइटा भरी पार्टी सामाग्री दुई जनाले बोकेका लिएर सुरेन्द्र कोठामा आउनु भयो। सामाग्री जिम्मा लगाएर दुई जना तुरुन्तै निस्किए। भोलि पल्ट मलाई कोठामा बस्ने साथीहरूले बस पार्क पुर्याए। म नेपालगन्ज हुँदै दाङ्ग घोराही र तुलसीपुर पुग्नु थियो। मलाई पार्टीले बाटो खर्च तीन हजार रुपैया दिएको थियो। मलाई नेपालगन्ज सम्मको टिकट काटिदिए। झोला बसमा चडाए। म बसको सिटमा बसे। साथीहरू पालैपालो हात मिलाएर फर्कनु भयो। बेलुका चार बजे बस कलंकी हुँदै अगि बड्यो।

मनमा अनेकौ तर्क चल्दै गए। पार्टी सामाग्री सुरक्षीत गन्तव्यमा पुर्याउने जिम्मेवारी मेरो काघमा पार्टीले सुम्पेको थियो। तत्कालीन नेकपा ( माले )का पार्टी दस्तावेज प्रहरीले त्यति भेट्नु हो भने मेरो ज्यान नै समाप्त गर्न सक्थे पंचायती तानाशाहले। म निर्धक्क संग बसेको थिए। नागबेली सडकमा बस आफ्नै रफ्तारमा हुइकी रहेको थियो। धादिङको मलेखुमा बस रोकियो। सहचालक भाइ चिच्यायो " ल नास्ता गर्ने समया। दिशापिसाब गर्ने समय १५ मिनेट । झ्याल लगाएर निस्कनु होला ।" अनि उ बसको ढोका खोलेर उत्रियो। एउटा होटल मात्रै थियो। सबै यात्रु त्यही होटलमा पुरी,चिया,बिस्कुट के के खान थाले। सब खानेकुरा अन्यत्र भन्दा दोब्बर महंगो थियो। मैले चिया मात्रै पिए। म त चियाको पारखी नै थिए। सबै यात्रु आ आफ्नो सिटमा गएर बसे। म पनि। नजर झोला तिर लगाए सब ठिकठाक थियो। सहचालक भाइ फेरि बोल्यो " सबै आउनु भयो ? " उ अलि रोमान्टिक रहेछ" नआउनेले हात उठाउनु होला ।" सबै गल्लललल्ल हासे। एक प्रकार रमाइलो भयो। म ए साइडको छैटौं झ्याल पट्टीको सिटमा थिए। मैले नै त्यो सिट छानेर टिकट लिएको थिए। बस रोकिएको बेला प्रहरी चेकिङ गर्न आउँछ आउदैन हेर्न सजिलो थियो त्यहाँ बाट। यात्रु सबै गन्यो सहचालकले र बस हिडाउने संकेत गर्यो ढोका ढक् ढ्क् पारेर। अनि बस फेरि आफ्नै गतिमा। रफ्तार त्यस्तै ९०/१०० किलोमीटर प्रती घन्टाको थियो होला। त्रीशुलीको किनारै किनार ड्राइभर बस सुरक्षीत ढंगले स्टेयरिङ काट्ने, ब्रेक लगाउने, क्लज- एक्सिलेटर थिच्ने गियर परिवर्तन गर्ने अनि धुम्तिमा हर्न बजाएर बाटो क्लियर गर्न मै ब्यस्त थिए।

त्रीशुली नदि हतारमा समुन्द्र संग मित्रता गास्न सुसाउदै उर्लि रहेको थियो। म बसको झ्याल बाट पारी भित्तामा मधुरो रोसनिमा बाँस बसेका पराले झोपडी हेर्दै थिए। त्यो बेला बिजुली कहाँ झलमल थियो र गाउँमा। पहाडको जंगलमा आगो लागेछ। आगाको ज्वाला लामो धर्को जस्तो देखिन्थ्यो आकशगंगा जस्तै। म सोच्दै थिए कतै त्यहा घर भए के होला ? जंगली जनावर के गर्दा हुन्। एक्कासि बसमा ब्रेक लाग्यो। टायर धसिएर चुईइया आवाज समेत आयो। मनका सोचाइ पनि छरपस्ट भए।मेरो टाउको अगाडिको सिटमा ठोकिन पुग्यो। सबै चिच्याए । के भयो ? आधा घन्टा जाम भयो सडक अनि सुचारु भयो। अलि पर्तिर गाडी जुधेर एक्सिडेन्ट् भएको रहेछ। केहिछिन गुडे पछि बस मुङ्लिङ पुग्यो। त्यो बसले खाना त्यही खुवाउने रहेछ। सहचालक भाइले खाना खाने उर्दि जारी गर्यो।
समय आधा घन्टा मात्रै है खाना खाने समय भन्यो।त्यो भन्दा उता बसले पर्खिदैन भन्दै ढोका खोल्यो। सबै यात्रु खाना खान होटल पसे। म पनि गए , हात धोए र दालभात मागेर खान बसे। खाना महंगो नै हो। पैसा तिरेर उहीँ सिटमा गएर बसे। बिस्तारै सबै आए। पैतिस मिनेटमा बस फेरि दौडियो। जोगिमार सम्म त एताउती हेर्दै थिए। त्यहा बाट त निदाएछु।
हावाको चिसो झोक्काले पुरै शरीरमा स्पर्श गर्यो। म झसङ्ग भएर बिउझे। यसो हेर्दा त उज्यालो भित्री सकेको थियो। बुटवलमा पो बस रोकिएको रहेछ। एक दुई यात्रु त्यहिका रहेछन् उत्रिए । सडक छेउ फुटपाथको चिया पसलमा मानिसहरू तातो चिया पिउदै थिए। मैले पनि चिया लिएर पिउन थाले। चिसो मौसममा तातो चिया आनन्द नै भयो। बस सिधै नेपालगन्ज नजाने रहेछ। भैरहवा गएर बोर्डर पारी ईन्डियाको बाटो भएर जानू पर्ने रहेछ। मेरो मन अब के गर्ने भनेर चिन्तित भयो। त्यो बेला यो फोन पनि थिएन। केही सोच्न सकिरहेको थिएन दिमागले बस भैरहवा तिर हुइकियो। त्यहा बोर्डर पारी जादा त सबै झोला हेर्छ। झोलाको माथी केही पुराना सर्ट पेन्ट हालेको छु। त्यो भन्दा मुनि खोतल्न थाल्दा त सबै पार्टी सामाग्री छन् । टिकट मेरो नेपालगन्ज कै छ। प्रहरीलाई अब कसरी छक्याउने। एक छिन बिचार गरे। अनि एउटा निर्णय आफै गरे। दुबै झोला बोकेर प्रहरी तिर जान्छु र झोला हेर्नू भन्छु भन्ने लाग्यो। सोच्दै आँखा पनि झ्याल बाहिर दौडाउदै थिए। रफ्तारमा बस गुडिरहेको थियो। कतिखेर भैरहवा आउँछ मन पिरोली रहेको थियो। बल्ल एक जुवा घाम भए पछि भैरहवा भन्सार छेउमा बस रोकियो। सबै यात्रु हतारमा उत्रदै गए। म अन्तिम तिर उत्रिए। झोला निकै हुडमा थिए। सहचालक भाइले सामान झारे।मैले मेरा झोला समातेर भुइमा राखे।
बस ड्राइभरले भन्यो को को ईन्डिया जाने हो वहाँहरु अब गए हुन्छ। नेपालगन्ज जाने जति म संग हिड्नु भन्यो। १२/१३ जना जति हामी उस्को पछि लाग्यौ।नेपाली पुलिस भन्सारमा थिए। मैले झोला हेर्नू हुन्छ भनेर खोले जस्तो गरे। ड्राइभरले झोला हेर्नू पर्दैन नेपाल जाने हो भन्यो। प्रहरीले पनि पर्दैन भन्यो। म ढुक्क भए। अनि सुनौली भन्सार हुँदै पारी ईन्डिया गैयो। त्यहाँ बाट नेपालगंजको नाका भन्सार रुपैडिया सम्म पुग्ने गाडी ड्राइभरले नै बन्दोबस्त गरे। उसलाई हाम्रो १२/१३ जना यात्रुको भाडा तिरिदिए। उ त्यति गरेर अब तपाईंहरु जानू म फर्किन्छु भने।रुपैडिया नाका बाट नेपालगन्ज घोडाले तान्ने एक्काले लान्छ त्यसमा जानुहोला। उनी बिदा भएर गए। त्यसको केही समय पछि मिनि बस पश्चिम दिशा लाग्यो। नेपालको जस्तो बस रफ्तारमा कुदेन। बस स्टेसनमा यात्रु ओराल्ने चढाउने गर्दै इन्डियन मिनि बस बिस्तारै गुड्थ्यो। रुपैडिया भन्सार नाका पुग्दा अबेर भै सकेको थियो। हतारमा म भन्सार चेकपोस्ट पुगे। एउटा झोला काधमा भिरेको थिए। अर्को हातमा झुन्ड्याएको थिए। प्रहरी छेउमा पुगेर म भैरहवा बाट आएको नेपालगन्ज हिडेको झोला हेर्नू पर्छ सोधे। प्रहरीको ध्यान अर्कै तिर थियो। जानू पर्दैन भन्यो। अब भने म ढुक्क भए। अनि नेपालगन्ज जाने एउटा घोडाले तान्ने टागा भए तिर लागे। कस्तो एक्काको घोडा जस्तो भनेको सुनेको थिए। त्यो दिन देखे चडे पनि। झोला टागामा हाले अनि म पनि चडे। चार जना यात्रु भए पछी घोडालाइ द्वाली फड्कार्दै एक्का हिडायो।
पिच सडकमा घोडाका टापको आवाज एक प्रकार आनन्द मेरो कानमा प्रतिध्वनित भैरहेका थिए। ठक् ठक् कर्याप् कर्याप् ....। मलाइ त्यहा ग्राफ बनाएर दिएको थियो म पुग्ने घर। पत्र पनि थियो। मैले पार्टी सामाग्रीको त्यहा एउटा झोला छोड्नु थियो। म क. असोक कोइरालाको घर जानू थियो।वहाँ लाई पत्र पनि थियो। मैले त्यो एक्का वालालाइ मेन चोकमा रोक्न भने। उसले मलाई चोकमा उतार्यो। अनि म रेक्सा लिएर अशोक कोइराला को घर गए। वहाको सानो पक्का घर रहेछ। रिक्सा बाट ओर्ले पैसा तिरेर म घरको आगनमा पुगे। को हुनुहुन्छ ? यो अशोक कोइरालाको घर हो? म प्रस्न गर्दै बरन्डामा पुगे। एक जना महिला सायद सुत्केरी हुनुपर्छ स्यानो नानीलाई घाममा तेल दल्दै हुनुहुन्थ्यो। यसो हेरे। अहो क. गौरा प्रसाईं पो हुनुहुदो रहेछ। एक्कासि मलाई फेख्दा वहाँ छक्क पर्नु भयो म पनि त उस्तै अचम्म। काठमाडौ महिला सेन्ट्रल जेल बाट छुटे पछि क. गौरा झापा घर जानू भएको थियो। घर केचनाको सुकुनाढिकी भन्ने ठाउमा थियो। स्वर्गीय दोर्णचार्य क्षेत्री वहाँको छिमेकी। दाइ पदम प्रसाइएए। झापा गए पछि क. गौरालाइ घर पुर्याउन म नै गएको थिए। त्यही भएर वहाँ र मेरो कमरेडलि राम्रो चीनजान थियो।
मलाई बस्न भन्नु भयो। बसेर एकछिन कुराकानी भए पछि मेरो नाम गौरा र हामी एक अर्कोमा चिनजान भएको नभन्नु होला संजय कमरेड भन्नू भयो। मैले हुन्छ भने। मलाई अब कुनै चिन्ताको बिषय नै भएन। तर अशोक कमरेड संग भेट भने नहुने भयो । ३/४ दिनको लागि वहाँ कतै पार्टी काममा जानू भएको रहेछ। साँझ भैसकेको थियो। मैले क. गौरालाइ क.अशोकलाई लेखेको पत्र दिए। एउटा झोला जिम्मा लगाए। अनि भोलि दाङ जानू पर्ने कुरो सुनाए। स्यानो नानीलाई सुताएर क. गौरा केही मिनेट बाहिर जानू भयो। अनि आएर भान्सामा जानू भयो। रात बढ्दै थियो। आफ्नो बिरानो नचिनिने समयमा एक कमरेड आउनु भयो। म संग हात मिलाएर नजिकै बस्नु भयो। अनि कुराकानी अघि बढायौं। हाम्रो तत्कालीन पार्टी नेकपा ( माले)को देसब्यापी बढ्दै गएको संगठन अनि प्रभाव बारे छलफल गर्यौ। आउने फागुन २१ गते पार्टीको सहिद दिवस मनाउने निर्णय पार्टीको थियो। त्यसमा हामिले गर्नु पर्ने काम र दाइत्व बारे पनि चर्चा भयो। समय निकै घर्की सकेको थियो। खाने समय पनि हुदैथियो। कमरेड जान हतारिनु भयो। गौराले झोला र अशोकको पत्र वहालाइ जिम्मा दिनु भयो र बिहान आएर मलाई दाङ जाने बस चडाउन भन्नुभयो। बिहान सात बजे आउने भनेर हिड्नु भयो। केही पर सम्म देखिदै बाटोको अध्यारोमा बिलिन हुनुभयो।
नौ बजे खानपिन भयो। खाना खाएर एक छिन राजनीतिक र केही आफ्नै कुरा भए। अनि मलाई बैठक कोठामा सुत्न भन्नू भयो। त्यहा एउटा पलङ थियो। मेरो लागि त्यही ओछ्यान लागेको थियो। म त्यहा गए। लुगा फेरे। अनि सुत्न तरखरमा लागे। माघको महिना जाडो नै थियो। सिरक ओढेर ओछ्यानमा पल्टिए। अहिले जस्तो फोनको सुबिधा थिएन। म पक्राउ परे कि ठाउमा पुगे त्यो तत्काल कसैलाई थाहा हुदैन थियो। गन्तव्यमा पुगे पछि मात्रै थाहा हुन्थ्यो। म सबै भोलिपल्टको पुग्ने ठाउँ सोच्दै थिए निदाएको पत्तै भएन। बिहान पाँच बजे उठेर बाथरुम गए। मुख धोए। त्यो बेला क. गौरा भान्सामा चिया बनाउदै हुनुहुन्थ्यो। म बैठक कोठामा आए पछि चिया लिएर आउनु भयो। बाटोमा खाना खान ढिलो होला केही खानु पर्छ भनेर बिष्कुट दिनु भयो। मैले चिया र बिष्कुट खाए। त्यो बेला सम्म मैले लुगा फेरर हिड्ने तयारीमा नै थिए। मेरो त अब बेलुका आउने कमरेडको पर्खाई मात्रै त्यहा थियो। उहा आउने बित्तिकै बसपार्क जानू पर्ने। मेरो त दाङ तुलसीपुर हो अन्तिम पुग्ने बिन्दु।
हस्याङपस्याङ गर्दै साढे छ बजे कमरेड आइपुग्नु भयो। मलाई अब गै हालौ नत्र अर्को बस धेरै ढिलो मात्रै जान्छ भन्नू भयो। अनि झोला कमरेडले समात्नु भयो। मेरो स्यानो झोला मैले बोके। अनि क. गौरा र घरका सबै संग बिदा मागेर त्यहाबाट हिड्यौं। सडकमा निस्किएर रिक्सा चड्यौ। कता जाने भन्दै थियो रिक्सावाल बसपार्क भने पछि उतै बडायो। केहि छिनमा बसपार्क पुर्यायो। रिक्सा भाडा २० रुपैयाँ कमरेडले नै तिर्नु भयो। टिकट काउन्टरमा गएर दाङ घोराही जाने टिकट काटे। सिट बि साइडको १० नम्बर झ्यालको लिए। कमरेडले झोल सिटमुनी मिलाएर राखिदिनु भयो। १५ मिनेट पछि बस छुट्ने थियो। मैले कमरेडलाई अब म सिटमा बसे जानू भनेर हात मिलाउदै बिदा गरे।फेरि भेट हुने कुरा गर्दै वहाँ बसबाट उत्रेर जानू भयो। केहि बेरमा सबै यात्रु आए। बस भरियो। अनि बस स्टार्ट भयो र गुड्न थाल्यो। मेरो लागि सबै ठाउँ सडक नौला थिए। सुदुर पुर्बको म पश्चिम पुगेको थिए। बस केही समय उत्तर तर्फ कुदेर पुर्ब मोडियो। त्यो ठाउँ कोहलपुर रहेछ। अब गाडी भालुबाङ तर्फ लाग्यो। त्यही बाट बस दाङ जाने रहेछ। केही घन्टा गुडे पछि बस भालुबाङ पुगेर रोकियो। खाना त्यही खाएर जाने कुरो भयो। ड्राइभर र सहचालकले खाना खाने होटल लगे। मैले पनि त्यहा सादा खाना खाए। कालो दाल ,रायो सागको तरकारी, गोलभेडाको पिरो अचार संग खाना साह्रै स्वादिलो थियो त्यो खानाको स्वाद आज पनि मेरो जिब्रोले संझी रहेको छ।
आधा घन्टा समय भए पछि यात्रुलाई सहचालक भाइले बसमा जान भन्यो। म पनि हतार हतार सिटमा गएर बसे । त्यो भाइले सबै सिट हेर्यो । कोहि पनि छुटेको थिएन। अनि बसको ढोका ठटायो। जाउ गुरुजी भन्यो। अनि बस स्टार्ट भयो। बिस्तारै अब चुरे पहाड तिर बस हुइकियो। चुरे पहाड अनेकौ घुम्ती कन्दरा पार गर्दै बस घोराही पुग्यो बेलुका। म बस स्टेसनमा ओर्लिए। फेरि तुलसीपुर जानू पर्ने। त्यो बसको सहचालक भाइले अर्को बस देखायो। त्यो लोकल बस हो चढेर जानू भन्यो। म त्यतै गएर बस चढे। तुलसीपुरमा ओर्ले पछि फर्साराम देवकोटा सरकोमा जानू थियो। चिनेको छैन नाम मात्रै दिएको छ। पार्टी सामाग्री र पत्र त्यही छोड्नु पर्ने। स्यानो पसल थियो किराना सोधे फर्साराम सरको घर कहाँ पर्छ भनेर। उनले एउटा १२/१३ बर्षको भाइलाई बोलाएर मलाई सरको घर पुर्याउन पठाए। सायद त्यो भाइ सर कै बिध्यार्थी रहेछन्। १० मिनेट जति हिडेपछी सरको घर पुगियो। त्यो भाइले घरमा पुगेर सर भनेर बोलायो। साँझ परिसकेको थियो। रिमरिममा मलाई चिन्ने कुरै भएन नयाँ मानिस। एक छिन अलमल परेर आउनु बसौ भन्नू भयो।मुढा दिनु भयो बस्न। सानो भाइ म त गएको सर भनेर पश्चिम तर्फ दौडियो।
बसे पछि मैले वहाको निम्ति लेखेको पत्र दिए। स्टिच उक्काएर पढ्नु भयो। अनि बिस्तारै कमरेड मिलन भित्र जाउ भनेर झोला लिएर भित्र लाग्नु भयो। म वहाको पछिपछि गए। काठको टाढे घर। भित्र बाट माथी चड्ने भर्याङमा उक्लिनु भयो। म पनि उक्लिए संगै। अनि वहाँ त सर स्कुलको कुरा गर्न खप्पिस हुनुहुन्थ्यो। हसाएर कुरा गर्नु हुन्थ्यो ।म पनि उस्तै एकै छिनमा आत्मीय। नौ बजे सम्म कुरा गर्यौ। नेकपा (माले)को मुख पत्र वर्गसंघर्षमा एउटा कविता छापिएको थियो दंगालिको चिट्ठी झापालीलाई। त्यो असाध्य राम्रो थियो। त्यसलाई मैले मुखाग्र बनाएको थिए। त्यही भएर मलाई दंगाली कमरेड प्रती असिम माया प्रेम जागेको थियो।थोरै
ए झापाली कमरेड
तपाईले हिडेको बाटो
हामी पनि हिड्दै छौ
तपाईंले उठाएको हतियारले
सामान्तको सफाया हुन्छ....
तपाईंलाई दिएको यातनाले
दंगालिको मुटु दुख्छ....
मैले फर्साराम सरलाइ दंगाली भएकोमा आभर ब्यक्त गरे। उहाँ खुसिले गदगद हुनुभयो। भान्सा बाट गुरुमाले खाना खान बोलाउनु भयो। हामी खान गयौ। म संग अझै एउटा पत्र बाकी थियो। त्यस बारे सरलाइ पनि लेख्नु भएको रहेछ। तपाईंले ल्याउनु भएको पत्र र सामाग्री लाने कमरेड पर्सि मात्रै आउनु हुन्छ। वहाँ संग भेटेर मात्रै जानुस् कमरेड। वहाँ यो क्षेत्रको इन्चार्ज हो। मैले पनि खाना खादै हुन्छ भनिदिए। यत्रो टाढा आएको छु दुई चार ठाउँ घुमेर जान पाए हुने मन मनै सोचे पनि। खाना खाएर मलाई बरण्डाको कोठामा लानु भयो। ओछ्यान मिलाएर सर पनि एकछिन बस्नु भयो। अनि मलाई गलेर लामो बाटो आउनु भएको सुत्नु भनेर जानू भयो। म पनि ओछ्यानमा पल्टे। पहाडको बाटो त्यो पनि धेरै ठाउँ बिग्रेको ढुङ्गा खाल्डाखुल्डीले सताएको नै थियो। म निन्द्रानदेविको काखमा लुटपुटिएर निदाएको पत्तै भएन। माघको महिना रात लामो दिन छोटो हुन्छ। बिहान छ्याङ्ग उज्यालो भएको थिएन। सरले ढोका ढकढक्याउनु भयो। म उठेर ढोका उघारे। सरले मेरो हातमा एक कप चिया थमाउनु भयो। अलि पर्तिर अर्को कप रहेछ त्यो चिया लिएर सर कोठामा पस्नु भयो। नौ बजे खाना खाएर सर स्कुल जानू पर्छ।म दिन भर कोठामा बस्ने। त्यो बेला कम्युनिस्टलाई निसाचर पनि भन्थे त्यही भएर। रातभर हिड्ने दिनभर बस्ने। चिया पिएर आगनमा झर्यौ। हात मुख धुए मैले कल पेलेर। सर मलाइ माथी नै गएर बस्नु भन्दै कतै लाग्नु भयो।
आज र भोलि पल्टका दिन मैले देवकोटा सरको घर मै बसेर बिताए। बेलुका नौ बजे तिर मलाई भेट्न कमरेड आउदै हुनुहुन्छ भन्ने सरले मलाई बताउनु भयो। आउने कमरेड त्यो जिल्लाको पार्टी सचीव हुनुपर्छ भन्ने मलाई लाग्यो। खाना नखाई बस्यौ वहाँलाई पर्खेर। साढे नौ बजे कमरेड आउनु भयो। वहाँलाई देखेर म , मलाई देखेर वहाँ छक्क पर्यौं। काठमाडौमा बिरामी भएर औसधि गर्न बस्ने कमरेड नै हुनुहुन्थ्यो वहाँ । मज्जाले लाल सलाम गरेर दर्बिलो हात मिलायौं। अनि भलाकुसारी। भन्सा बाट गुरुमाले खानाखान सरलाइ बोलाउनु भयो। अब खाना खान हामी दुई, सर र गुरुमा बाकी थियौ। नानीहरु सबैले खाइसकेर सुति सकेका थिए। निकै रात भएको हुदा सुत्ने कुरो भयो। कमरेड र म त्यही बरण्डाको कोठामा सुत्यौं। बिहान चिया पिएर हातमुख माथी बरण्डा बाट नै धोयौ। मैले वहाँलाई पत्र दिए। झोलाका सामाग्री जिम्मा लगाए। दिन भर त्यहा बसे पछि राती ३ जना कमरेडहरु आउनु भयो। अनि सबै सामाग्री लिएर चारै जना कमरेड त्यहा बाट जाने तरखरमा लाग्नु भयो। मलाई अभागी कमरेडले पर्सि राती आउने र केही ठाउँ घुमाइ दिन्छु भन्दै हात मिलएर सबै कमरेडहरु अध्यारो छिचोल्दै बिलिन हुनुभयो। देवकोटा सर र म बिहान चिया पिउदै थ्यौ नजिकै को एक महिला कमरेड आउनु भयो। मेरो लागि त वाहा अपरिचित नै हुनुहुन्थ्यो सरासर आएर मिलन कमरेड भन्दै हात मिलाउनु भयो। बडो आत्मीय हुनुभयो। मनौ वहाँ र मेरो पुरानै चिनजान हो।अनि बिस्तारै कुरो खोल्नु भयो। अभागी कमरेड त्यतै बाट जानू भएछ र म झापाको हो भन्दिनु भएछ।
अनि त के " झापालिको चिट्ठी दंगालिलाइ" सुनाउन थाल्नु भयो। त्यो वर्गसंघर्षमा प्रतिउत्तर कविता थियो झापालिले लेखेको। यति माया गर्नु भयो दिदी कमरेडले (सायद नाम लक्ष्मी) कि आफ्नो दिदिले भन्दा ज्यादै। किनकी म झापाली भएर हो। कम्युनिस्ट क्रान्तिको उद्गगम स्थल भएर हो मैले माया पाएको। देवकोटा सर संग खस्याक खुसुक कुरा गर्नु भयो। साँझ परी सकेको थियो। मेरो कपडा भएको झोला बोक्नु भयो र लु जाउ भन्नू भयो। म अलमल्ल परे। कता हो के भन्नू भएको भनेर सोधे। सरले वहाँ दिदी कमरेड तपाईंलाई वहाकोमा बस्ने भनेको नि। झापाली कमरेड संग धेरै कुरा गर्न मन छ भन्नुहुन्छ दिदी। ३/४ गर पर हो जानू न अभागी कमरेड त्यही आउनु हुन्छ भोलि। म त स्कुल छुट्टिभएर त्यही आउछु। अनि म दिदी कमरेडको पछि लागे। भोलि पल्ट खाना खाएर दिदिले मलाइ संस्कृत कलेज लिएर देखाउन लग्नु भयो। त्यहाँ बाट आएर खाजा खाइ दक्षिण तिरको खोला पनि हेर्न पुग्यौं। अनि आएर कुरा गर्यौ। अनेक क्रान्तिकारी कथा भने। खाना खाएर पनि कुरा गर्दा झण्डै बाह्र बजेछ। हामी रात धेरै गएछ भन्दै सुत्यौ। भोलि बेलुका कमरेड अभागी आउनु भयो। खाना खाएर मलाई अब त्यहाँ बाट अन्यत्र लिएर जाने भन्नुभयो। अनि खाएर त्यहा देवकोटा सर दिदी संग हात मिलाउदै म बिदा भए । तीन दिन राती राती विभिन्न सेल्टरमा हुँदै चौथो दिन मलाई काठमाडौ फर्कने टिकट काटेर मलाइ बिदा गर्नु भयो। म अब त ढुक्क संग काठमाडौ लागे।
अलि पछि दाङ को जंगलमा क्रान्तिकारीको आधा जलेको लास फेला पर्यो भन्ने समाचार फैलियो। मैले अमृत कमरेड हाम्रो कोठामा आउनु भए पछि दाङ्को बारेमा सोधे। वहाँले भन्नू भयो अस्तिनै यहि औसधि गरेर जाने तपाइले दाङ मा भेट्नु भएको कमरेड नेत्रलाल अभागी हो। प्रतिक्रियावादीले मारेर जंगलमा लगेर आधी जलाएर छोडेछन् नेत्र कमरेडलाई। म दिनभर चिन्तित बने। मेरो त्यो भेट नै अन्तिम रहेछ कमरेड नेत्रलाल अभागी संग। वहाँ कवि पनि हुनुहुन्थ्यो। आज पनि म सहिद कमरेड नेत्रलाल प्रती हार्दिक श्रद्धाञ्जली नदिइरहन सक्दिन।अहिले दिदिको बारेमा मलाइ कुनै जानकारी छैन। कमरेड फर्साराम देवकोटा सर पनि ६/७ बर्ष अघि मृत्युवरण गर्नु भयो भन्ने सुने। साह्रै दुख लाग्यो। यसरी मैले झन्डै २० दिनको पार्टी सामाग्री पुर्याउने जोखिमको काम सफलतापुर्बक सप्पन्न गरे। काठमाडौमा पार्टीले मलाइ बधाई दियो।
देवराज कार्की "मिलन"सुन्दरहरैचा १० मोरङ




















