✍️प्रेम लुइटेल

सानामा म सारै चकचके थिएँ रे ! त्यसै खाली बस्न नसक्ने, के के गरिरहने। बाल स्वभाव हो हुन्देओ बुझ्ने भएपछि आफै ठीक हुन्छ भन्नुहुन्थ्यो रे आमाले । तर मेरो त्यो चकचके पन गएन । मैले यसैकारण ध्यान दिएर पढ्न पनि सकिन। टेस्ट परीक्षा तृतीय श्रेणीमा पास भएपनि एस एल सी भने तीनचोटि मा पनि उक्लिन सकिन। मेरा दिनहरू पढ्नु नपरेपछि फुर्सदिला भए। बुवा को सानो सरकारी जागीर थियो त्यो पनि जिल्ला बाहिर। घरमा आमा, सानी बहिनी र म । थोरै खेतबारी जहान पनि सानै थियो, खान लाउन पुगेकै थियो। दिदीको बिहे भइसकेको थियो। मलाई असाध्यै माया गर्थि दिदीले। प्राय म दिदीकोमा गई रहन्थे ।

दिदीकोमा म अलिक बाक्लै जानथाले । कारण दिदीको छिमेकीको छोरी श्वेता र मेरो हिमचिम बढ्दै थियो ।हेर्दा असाध्यै राम्री थिइन् उनी । बुवा सानैमा बितेका । घरमा भाउजु आमा र ऊ मात्र दाजु विदेश थिए । सामान्य परिवार थियो त्यो। जात भने मिल्ने थियो हाम्रो। उसको नि पढाइ कमजोर रहेछ। दाजुले विदेशबाट स्मार्ट फोन पठाएपछि झन् पढाई बिग्रेछ । आठ कक्षा मा दोस्रो पटक पढ्दै थिइन् श्वेता । हाम्रो प्रेम झाँगिदै थियो । उ सत्र वर्षकी म उन्नाइस को । अल्लारे बैसले हामीलाई अन्धो बनायो ।

बुवा जागिरबाट घर आउनु भयो। प्रायश: महिना मरेर तलब थापेपछि बुवा घर आउनु हुन्थ्यो। यसपटक पनि खानेकुरा अरु समान,मलाई जुत्ता, आमालाई लुङ्गी र बहिनीलाई तीन तले जामा पनि ल्याइदिनु भएछ।
बुवाले आमालाई सधैं तलब र घर खर्च दिनुहुन्थ्यो। सदा झै घरखर्च दस हजार दिएको मैले देखें। आमाले दराजमा पट्याएर राखेको लुगाले थिचेर त्यो पैसा राख्नु भो। गाउँमा खसी काटेको र बुवा पनि आउनु भएकोले एक किलो ल्याए मैले। बुवाले पैसा दिनुभयो। बेलुका बुवाले मलाई सम्झाउनु भयो ।अझै उमेर छ पढ केटा भन्नु भयो। कि मसँग उतै पढ्न जान्छन् त भन्नुभयो । तर आमाले छोरी नि सानी छे ।यो पनि तपाईंसँगै गएपछि डर लाग्छ भन्नु भो। म घरै बस्ने भएँ। त्यसोभए ट्युसन पढ भन्नुभो मैले टाउको हल्लाए।

बुवा घर बस्दा सधैं रमाइलो लाग्थ्यो तर यसपटक किनहो बुवा चाँडै जागीरमा गएहुने जस्तो लाग्यो मलाई। श्वेता र मेरो गोप्य फोन र च्याटिङ बाक्लिदै थियो। हामी एक अर्को बिना बाँच्न नसक्ने भयौ। बुवा जरुरी फोन आएर अफिस तीन दिनमै फर्किनु भयो। मलाई खुशी लाग्यो। श्वेता र म भाग्ने निष्कर्षमा पुग्यौं । अल्लारे बैशले विवेक लाई जित्यो। मैले आमाले राखेको दस हजार चोरेर झोलामा लुगा कोचेर दिदीको घरजान्छु है आमा भनेर आमालाई झुक्याएर घरबाट हिँडे। श्वेता पनि केही पैसा, सुनको सिक्री, औंठी र लुगा बोकेर साथीको बर्थडे मा जान्छु भन्दै आधी बाटो आइन्। हामी नाइट बस चढेर काठमाण्डू हुइकिऔं।

म दुई तीन पटक बुवा र आमासँग काठमाडौं आएको थिएँ। श्वेताको पहिलो पटक थियो। हामी गोंगबुको सुविधा गेस्ट हाउसमा रूम लिएर बस्यौ। साहुनीले भागेर आएका जोडी हुन् भन्ने लख काटिन्। डराउनु पर्दैन बुढा बुढी लेखिदिएकी छु पुलिस चेकमा आए दुवैले श्रीमान् श्रीमती भन्नु उमेर एक्काइस वर्ष भन्नु भनिन् , हामीले हस् भन्यौ।भोलिपल्ट नुहाएर हामी पशुपति गयौ। पशुपतिमा लगेको माला र अविर ले हाम्रो स्वयंवर र सिन्दुरपोते दुवै भयो। बाहिर एकलुङ पोते किनेर श्वेतालाई लगाइदिए। उनी औधी खुशी भइन्।

मलाई पति परमेश्वर स्वीकारिन् मैले अर्धाङ्गिनी। आज हाम्रो बिहेको दिन न जन्ति, न मण्डप, न कोई साक्षी। साक्षी थिए त केबल पशुपतिका परेवा, बाँदर, बसाहा र स्वयं पशुपतिनाथ । सायद उनैले आशीर्वाद हाम्लाई दिए होलान्। काठमाडौं घुमेको पनि सात दिन बितेछ। हामी दुवैको मोबाइल स्विच अफ थियो। मैले साँझ मोबाइलको स्विच अन गरें। दिदीको फोन आई हाल्यो। मैले उठाएँ।ए काले तैंले त्यो श्वेतालाई लिएर हिडिस् होइन भन्दै कराई। कलिलै उमेरमा तिमेरलाई वैंश आएको छाडाहरु भन्दै कहाछौ भनी। मैले पोखरा भने । हामीलाई भेटेर छुटाउछन्
कि भन्ने डर थियो।

अब जे हुनु भयो आओ घर, सिंदूर पोते गर्दिने दुवै तर्फको कुरा भयो दिदीले भनी। स्वेताले पनि सवै सुन्दै थिइन्। उनी हासिन्। मलाई भने के हुनेहो भन्ने डर लाग्यो। हामी दस दिनको दिन घर फर्कियौ। हाम्रै घरमा दुवै तर्फका आफन्त भेलाभएर सिंदूर पोते भयो। बुवा आमाले एउटा छोरो कस्तरी बिहे गर्दिउला भन्ने थियो मुलाले यस्तो गर्यो भन्नु भयो। मलाई कता कता ग्लानि भयो। बिहे पछि मलाई जिम्मेवारी बढेको महसुस भयो। के गरी जीवन धान्ने सोच्न थालें। पढ्न सकिन, सीप छैन, व्यापार गर्न पैसा छैन। मन् विचलित थियो।

बुवाको पनि आफ्नै गाउँपालिकामा समायोजन सरुवा भयो। घर बाटै अफिस जान थाल्नुभयो। हाम्रो बिहे भएको पनि सात महिना बितेछ। श्वेता गर्भवती भइन् म बाबु हुने भए। कमाई न धमाई बच्चाको बाबु, मलाई खिन्नता भयो।मैले विदेश जाने विचार गरें। घरमा सल्ला गरेर म विदेश जाने कुरामा सवैलाई मनाएँ। स्वेताले म हलम भएपछि गए हुन्न भनिन्, मैले उनलाई सम्झाए। उनी रुनपो थालिन्। मैले पनि आँखाको डिलबाट आँशु बगाउदै उनका आँशु पुछिदिए। उनले अंगालो हालिन्, म भक्कानिए। श्वेताको दाजुले पठाएको भिसामा म कतार जाने भए। घरबाट हिड्ने बेलामा रुवाबासी चल्यो।मैले आमा र दिदीलाई ढोगे।श्वेता र कान्छी बहिनीलाई अंगालो हाले।मलाई पनि रुन आयो। बुवाले हिंड अब भन्नु भयो। बुवा र म काठमाडौं आयौ।भोलिपल्ट श्रमको काम सकेर पर्सी पल्ट म कतार उडे, बुवा सञ्चयकोष बाट ऋण लिएर घर फर्किनु भो।

दोहा एयरपोर्टमा श्वेताको दाजु लिन आएका थिए। म उनै संग रूम गएँ। मेरो कम्पनी दाजुको भन्दा सय किलोमीटर टाढा रहेछ। भोलिपल्ट कम्पनीको मान्छे आएर मलाई लिएर गयो। भोलिपल्ट देखि म काम मा लागे। कार्गो कम्पनीमा मेरो ड्युटी थियो। समान लोड अनलोड गर्ने। दैनिक आठ घण्टा काम, चार घण्टा ओभर टाइम। बार घण्टाको लोड अनलोड ले म पन्ध्र दिनमै थकित भएँ। घरमा खासै काम नगरेको बीस वर्ष पुग्दै गरेको मेरो शरीर शिथिल बन्न पुग्यो। असाध्यै गर्मी ठाउँ म पहाड को शितलबाट आएको मलाई सारै कठिन भयो।

यो सवै आफ्नै बुद्धि र कर्मलाई दोष दिँदै म काम मा सकि नसकि जाँदै थिएँ। एक महिना पछि त मेरो मुखबाट रगत पो आउन थाल्यो। काम गर्दा गर्दै म ढलेछु। मलाई एम्बुलेन्समा हालेर हस्पिटल लगेछन्। म दुई दिन पछि होसमा आएछु। होस आएपछि मैले श्वेता,आमा,बा, दिदी र कान्छीलाई सम्झिए। हेर मेरो बुद्धि मैले राम्ररी पढ्न सकेको भए, बा ,आमा र दिदीले भनेको मानेको भए , श्वेतालाई पनि हामी पहिले सक्षम हुने अनि बिहे गर्ने भनेर उनलाई पनि पढ्न प्रेरित गरेको भए आज यो नरकको बास त हुने थिएन भन्ने पछुतो लाग्यो। समय हाम्रो अधिनमा हुन्न, हामी समय अनुसार चाल्न सक्नुपर्छ भन्ने चेत आज म मा आयो। म यतै मरें र बाकसमा घर पुगें भने त्यो श्वेताको के हाल होला? बा आमाको एक्लो छोरो उहाँ हरुको सपना के होला? मलाई डाको छोडेर रुन आयो। म ठूलो स्वरमा चिच्याए आमा.........!!
ढोका खुल्लै थियो, बाबु के भयो भन्दै आमा आउनु भयो । बत्ती बाल्नु भयो । म बिउँझिए। भोलि एक्जाम छ, नराम्रो सपना देखिस्की क्याहो ! भन्दै पानी दिनुभयो। मैले आमालाई अंगालो हाले ।
 प्रेम लुइटेल "प्रेमी"
२०७७ चैत्र २१