नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेट ले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो।
आर्मीले दिएको १ सय २६ रनको सामान्य लक्ष्य पुलिसले ४०.३ ओभरमा ६ विकेट गुमाएर भेटायो। अमित श्रेष्ठले ४० बलमा ६ चौका र २ छक्कासहित पुलिसको जितको आधार तय गरेका थिए।
यस्तै ओपनर सुनिल धमलाले अन्त्यसम्म खेल्दै पुलिसको एकतर्फको विकेट सम्हाले। १ सय ३१ बल खेलेका धमलाले नटआउट ४२ रन जोडे। यस्तै कप्तान मन्जित श्रेष्ठ ११ रनमा नटआउट रहे।
पुलिसले अर्का ओपनर अनिलकुमार साह(२)लाई दोस्रो ओभरमा नै गुमाएको थियो। सुनिलसँगै अमितले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दै इनिङ अघि बढाए। पुलिसका मध्यक्रमका ब्याट्सम्यानहरु भने चलेनन्।
आरिफ शेख ६, पवन सर्साफ १, दीपेन्द्रसिंह ऐरी ७ र कुशल भुर्तेल ६ रनमै पवेलियन फर्किए। आरमीका करण केसीले ३ विकेट लिएर ९.३ ओभरमा उनले १ ओभर मेडन राख्दै ३ विकेट खर्चे। यस्तै सहाब आलामले २ विकेट तथा सुशन भारीले १ विकेट लिए।
त्यसअघि पुलिसका पवन सर्राफ र ललितनारायण राजवंशीले घातक बलिङ गरेपछि टस जितेर ब्याटिङ गरेको आर्मीले ३३.३ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रनमात्रै बनाउँन सक्यो। पवन र ललितले समान ४–४ विकेट लिए।
आर्मीका सोमपाल कामीले ३५, राजु रिजालले ३२, भीम सार्कीले २० र रोहित पौडेलले १८ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन्।
सुरुवात राम्रो गरेपनि आर्मीले त्यसलाई निरन्तरता दिन सकेन्। पहिलो विकेटका लागि राजु रिजाल र सोमपाल कार्मीले ७२ रनको साझेदारी गरेका थिए। सोह्रौ ओभरको पाँचौ बलमा ललितले सोमपाललाई पवन सर्राफबाट क्याच गराए। ४० बल खेलेका सोमपालले ३ चौका र २ छक्का प्रहार गरे।
अर्को ओभरले सागर ढकालको बलमा राजु रिजालले स्ट्रेटमा गरेको प्रहार कुशल भुर्तेलले समाते। मध्यक्रमका भरपर्दा ब्याट्सम्यान रोहित पौडेल पनि धेरैबेर क्रिजमा रहेनन्। २३ बल खेलेर २ चौका र एक छक्का प्रहार गर्दै १८ रन जोडेका उनलाई ललितले नै बोल्ड पारे।
२५औं ओभरमा हरिबहादुर चौहानलाई गुमाउँदा आर्मी १००–४ को स्थितिमा थियो। त्यसपछि २५ रन जोड्दा आर्मीले ६ विकेट गुमायो। पवन सर्राफले विनोद भण्डारी(१), भीम सार्की(२०), कुशल मल्ल(०)लाई पवेलियन फर्काउँदा ललितले राजेश पुलामीमगर(३) र करण केसी(०)लाई एलबिडब्लुको सिकार बनाए।
उपाधिसँगै पुलिसले २० लाख तथा उपविजेता आर्मीले १० लाख नगद हात पारेको छ। जेठ ११ गतेबाट शुरु भएको प्रतियोगितामा ३ विभागीयसँगै ७ प्रदेशका टोलिको सहभागिता थियो।




















