बेलबारी,२२ चैत्र । थारु कल्याणकारिणी सभा बेलबारी नगर समितीको साँस्कृतिक भवन एक कार्यक्रमको आयोजना गरि समुद्घाटन गरिएको छ । १ न. प्रदेश सरकारका उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री माननिय राजकुमार ओझाको बाहुलीबाट शनिवार भवनको उद्घाटन सुसम्पन्न भएको हो ।

कार्यक्रमलाई स्वागत गर्दै सभाका नगर अध्यक्ष बाबुराम चौधरीले माननीय राज्यमन्त्रीको बजेट र सहयोगले कार्यालय निर्माणको अधुरो सपना साकार भएको भन्दै उहाँ प्रती सिङ्गो थारु समुदाय आभारी रहेको व्यक्त गरे ।
कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुली विशेष अतिथी, धिमाल जाती विकास केन्द्र नगर अध्यक्ष शिवनाथ धिमाल, खवास समाज परिषद् नगर अध्यक्ष विनोद खवास, राजवंशी समाज नगर अध्यक्ष प्रभाकर राजवशीं, विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उधोग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री ओझाले सबै जातजाति, भाषा र सम्प्रदायको मौलिक तथा साँस्कृतिक पहिचान नेपालको चिनारी भएकाले सबै मिलि जगेर्ना र परिस्कृत गर्दै अघि बढ्नुपर्ने वताउनुभयो । उहाँले आफुले थारु मात्र नभएर सबै जात जातिको उत्थान र हित हुने गरी राज्यको तर्फबाट सहयोग गरिरहेको कुरा व्यक्त गर्नुभयो ।
उक्त भवन निर्माणका निम्ति माननीय राज्यमन्त्री ओझाको पहलमा प्रदेश सरकार भौतिक पुर्वाधार मन्त्रालयबाट २० लाख, तराई मधेस कार्यक्रम मार्फत २५ लाख र बेलबारी नगरपालिकाबाट १० लाख गरि कुल ५५ लाख बजेट उपलब्ध गराइएको थियो । कल्याणकारीणी सभाले सार्वजनिक पुरान लगाई रकम संकलन गरेर जग्गा खरिद गरेको हो ।



















