काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
उनीलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्।
कांग्रेस प्रवेशपछि न्यौपानेले लोकतान्त्रिक पार्टीमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गर्दै मुलुकलाई सही निकास दिन कांग्रेस नेतृत्व आवश्यक रहेको विश्वासका साथ पार्टीमा आएको बताए। उनले आगामी दिनमा कांग्रेसमार्फत जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरे।
कार्यक्रममा सभापति थापाले न्यौपानेलाई पार्टीका नेता–कार्यकर्तासँग सहकार्य गर्दै संगठन विस्तारमा सक्रिय भूमिका निभाउन आग्रह गरे। उनले न्यौपानेको प्रवेशले सर्लाहीमा कांग्रेसको संगठन थप मजबुत हुने विश्वास व्यक्त गरे।




















