बलिउड नायिका एवं पूर्व मिस युनिभर्स सुष्मिता सेन पछिल्लो थुप्रै वर्षदेखि ठूलो पर्दामा देखिएकी छैनन् । हालै दिएको एक अन्तरवार्तामा उनले सन् २०१४ मा आफ्नो स्वास्थ्य अत्यधिक बिग्रिएको बताउँदै डाक्टरले उनलाई अभिनय छोड्न सल्लाह दिएको बताइन् । यतिबेला सुष्मिताले अत्यधिक समस्याको सामना गरेको पनि बताइन् ।
सुष्मिता जुन रोगबारे बताइरहेकी छिन्, त्यसको उपचार सहज छैन । तर पनि सुष्मिताले हार मानिनन् । यतिबेला उनी इन्स्टाग्राम र ट्वीटरमा लगातार आफ्नो प्रशंसकसँग जोडिरहिन् ।
‘हर्मोनको कमी’ सँग जुधिरहेकी थिइन् सुष्मिता सेनः
‘विमिन वी लभ’ शोमा राजिव मसन्दलाई दिएको अन्तरवार्तामा सुष्मिताले आफ्नो रोगबारे पहिलो पटक मुख खोलेकी हुन् । उनले भनिन्, ‘सन् २०१४ मा जब म फिल्म ‘निरबाक’ को सुटिङ गरिरहेकी थिएँ तब म बेहोस भएर लडेँ । उपचारका लागि अस्पताल पुर्याइएकी ममा कार्टिसोल नामको हर्मोनको कमी भएको पत्ता लाग्यो ।’ एड्रिनल ग्ल्याण्डले कार्टिसोल हर्मोन बनाउँछ ।
हरेक ८ घण्टामा लिन्थिन् स्टेरोइडः
कार्टिसोल हर्मोनको उत्पादन पूर्ण रुपमा रोकिँदा शरीरको अंगले बिस्तारै काम गर्न बन्द गर्छ । उनका अनुसार डाक्टरले उनलाई जिउँदो रहनका लागि हरेक ८ घण्टामा स्टेरोइड लिनुपर्ने सुझाए जसलाई हाइड्रोकार्टिजोन भनिन्छ । उपचार सुरु गरेपछि पनि उनले दुई वर्षसम्म निकै तनावको सामना गर्नुपर्यो ।
अनुहार सुन्निने र कपाल झर्ने समस्याः
उनका अनुसार डाक्टरले उनलाई जुन स्टेरोइड लिने सल्लाह दिएका थिए त्यसको विभिन्न साइड इफेक्ट्स थिए । उनको तौल बढ्न थालेको थियो र हड्डी कमजोर हुन थालेको थियो । ब्लड प्रेशर अत्यधिक बढेको थियो । सुष्मिता भन्छिन्, ‘म धेरै नै बिरामी थिएँ । म दुई बच्चाकी एकल आमा हुँ र मेरा बच्चालाई मेरो आवश्यकता थियो । त्यसकारण ममाथि जे भइरहेकामे थियो, त्यसले मलाई निकै चिन्तित पारेको थियो ।’
लण्डन र जर्मनीमा भइरहेको थियो उपचारः
सुष्मिताका अनुसार सन् २०१४ देखि २०१६ को बीचमा उनको जीवन निकै निराश थियो । उनले भनिन्, ‘म उपचारका लागि लण्डन र जर्मनी गएँ । यी दुबै स्थानमा मेरो विशेष परीक्षण भए जसलाई ‘सायनेक्टेन टेस्ट’ भनिन्छ । परीक्षणपछि दुबै देशका डाक्टरले मलाई बाँच्नका लागि लगतार स्टेरोइड लिनुपर्ने सुझाए । म यो सुनेर निकै डराएकी थिएँ किनभने शरीरमा स्टेरोइडको प्रतिक्रिया देखेर म निकै डराएकी थिएँ । शरीर सुन्निएका कारण मलाई आँखा खोल्न गाह्रो हुन्थ्यो । मेरो आँखा पनि कमजोर हुन थालेको थियो ।’
रोगलाई कसरी जितिन् ?
सुष्मिताका अनुसार यो गम्भीर रोगबाट हार नमान्ने उनको जिद्दीले नै उनले रोगमाथि जीत हासिल गरेकी हुन् । आबू धाबीको अस्पतालमा उनलाई स्टेरोइड दिइयो र पुनः परीक्षण गरियो । जब उनी अस्पतालबाट डिस्चार्ज भएर फर्किरहेकी थिइन् तब अचानक डाक्टरले उनलाई फोन गरेर उनले स्टेरोइड लिन बन्द गर्नुपर्ने जानकारी दिए । उनको शरीरले कार्टिसोल हर्मोन बनाउन सुरु गरिसकेको थियो ।
आफ्नो बडी सिस्टमलाई हराएर जितिन् सुष्मिताः
डाक्टरको भनाई उद्धृत गर्दै सुष्मिता भन्छिन्, ‘मेरो ३५ वर्षको मेडिकल करियरमा एड्रिनल फेल्योरपछि कुनै व्यक्तिको शरीरले पुनः कार्टिसोल हर्मोन बनाएको मैले पहिलो पटक देखेको हुँ । मैले तीन पटक यसको परीक्षण गरेँ र नतिजाले हैरान छु ।’
उनले रोगसँग लड्नका लागि उनलाई धेरैले सहयोग गरेको बताइन् । लगातार व्यायाम र वर्कआउटका साथै डाक्टर र ट्रेनर्सको रेखदेखका कारण सुष्मिता अब पूर्ण ठिक छिन् ।
सुष्मिताका अनुसार उपचारको क्रममा उनलाई निकै तनाव लाग्न थालेको थियो । उनले भनिन्, ‘म मानिसहरुको नजरमा रहन्छु किनभने म पूर्व मिस युनिभर्स हुँ । मेरो कपाल झर्न थालेको थियो र अनुहार सुन्निएको थियो ।’




















