पथरी, २असार । लामो समयदेखि मानसिक असन्तुलनको सिकार बनेकी बेलबारीकी एक युवतीको सोमबार उद्दार गरिएको छ।बेलबारी ९ स्थायी बसोबास गर्दै आएकी शलोचना राजबंशी साङ्लोमा बाँधिएको खवर सुनेपछि उपमेयर ढाकाकुमारी पराजुली (तारा ), वडा नं ९ का वडाध्यक्ष स्थानीय समाजसेवीहरु सहित नगरपालिकाको टीम उक्त स्थानमा पुगेको थियो।
मानव मनकी धनी साहित्य क्षेत्रमा समेत कलम चलाउने स्रष्टा पराजुली यस्ता घटनास्थलहरूमा सबै कामलाई थाती राखेर सेवा गर्ने सक्रिय हुने र यस्तै पिडित शलोचनालाई समयमै उद्दार गर्न सकिएको स्थानीय बताउछन् । यस्ता घटनास्थल पुग्न र राहत एवं उद्दार व्यवस्थापन गर्नमा उपप्रमुख पराजुली जिल्लामै पहिलो मानिन्छिन् ।
मानसिक रोगी भएकै कारण शलोचना घरमा परिवारसँग नबस्ने, गाउँ–गाउँ घुम्ने, खासै बोल्न नचाहने, बोलिहाल्दा पनि झर्केर बोल्ने, बालबालिकालाई कुटपिट गर्ने, अनावश्यक मानिसतिर झम्टने, औषधी नखाने समस्याका कारण परिवार आजित भएको उनका बुबा दरपदचन्द्र राजबंशीले बताए । घरको कमजोर आर्थिक अवस्था हुनुका साथै ७५ बर्षका बुवा दरपद राजबंशी रोजगार गर्न नसक्ने र आफू पनि बृद्धअबस्था भएकोले आफ्नै स्याहार गर्न नसक्ने अवस्थामा जवान छोरीको स्याहारसुसार गर्न ज्यादै कठिन भएको शलोचनाकी आमा दाखादेवी राजबंशीले बताइन् ।

एकातिर कमजोर आर्थिक अवस्था र अर्कोतिर आफ्नै नगरपालिकाभित्र युवती साङ्लोभित्र बाँधिएको खबरले आफूलाई असाध्यै दुःखी बनाएकोले मानसिक रोगबाट पीडित शोलोचनालाई उद्दार गरि तत्काल इटहरीस्थित मायाघरको संरक्षकत्वमा राखिएको उपमेयर पराजुलीले बताइन् ।
जवान छोरीको दुर्दशापूर्ण अवस्थाले आफूहरू चिन्तित भइरहेको र आफूहरू बेसहाराजस्तै भइरहेको बेला जनप्रतिनिधिहरू घरमै आएर छोरीको उद्दार गरेकोमा राजबंशी दम्पतिले उपमेयर ढाकाकुमारी पराजुलीलाई अभिभावक पाएको अनुभूति सुनाउँदै उहाँकै साथ रहनुभएका वडाध्यक्ष नगेन्द्र खड्कालाई पटकपटक धन्यवाद दिए । उद्दार कार्यमा बेलबारी ईलाका प्रहरी कार्यलय,बेलबारीका समाजसेवी राजेन राई र स्थानीयहरुले सहयोग गरेका थिए।



















