काठमाडौं, २७ असार । अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेसँगै यसका कप्तान लियोनल मेस्सी पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि पाउन सफल भएका छन् ।

साथै उनी कोपा अमेरिकाका उत्कृष्ट खेलाडी एवं सर्वाधिक गोलकर्ता बनेका छन् । यस पटक कप्तान मेस्सीले अर्जेन्टिनालाई उपाधि दिलाउन उत्कृष्ट खेल खेलेका हुन् । उनले ७ खेलमा ४ गोल र ५ असिस्ट दिएका हुन् ।

messi

अर्जेन्टिनाले गरेका १२ गोलमध्ये ९ गोलमा मेस्सीको प्रत्यक्ष भूमिका रह्यो । १५ वर्षदेखि राष्ट्रका लागि खेलिरहेका उनले यसअघिसम्म उपाधि जित्न सकेका थिएनन् । यस पटक भने उनकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएउँदै उपाधि हात पारेको हो ।

तर, मेस्सीले अन्ततः आलोचकको मुख बन्द गरिदिएका छन् । ब्राजिलमा भएको दक्षिण अमेरिकी महादेशीय फुटबल प्रतियोगिता (कोपा अमेरिका) मा आयोजक टिमलाई १-० ले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको छ ।

भलै ब्राजिलविरुद्ध आज भएको फाइनलमा मेस्सीले गोल गरेनन् । तर, उनका लागि आज गोलभन्दा जित महत्वपूर्ण थियो । यस प्रतियोगितामा अर्जेन्टिनालाई फाइनलसम्म डोहोर्‍याएको मेस्सीले नै हो । अर्जेन्टिना फाइनलसम्म आउँदा उनले चारपटक म्यान अफ द म्याचको पुरस्कार जिते । ४ गोल र ५ असिस्ट गरे । फाइनलमा पनि उनको नियमित प्रभाव थियो नै । त्यसैले यो उपाधिको सबैभन्दा ठूलो श्रेय मेस्सीलाई नै जान्छ ।

स्मरणीय के छ भने सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग हारेपछि मेस्सीले दिक्दार भएर अन्तर्राष्ट्रिय फुटबलबाटै सन्न्यासको घोषणा गरेका थिए । त्यसबेला उनको उमेर २९ वर्ष मात्रै थियो । पाँच वर्षअघिको त्यो सन्न्यासमा कायम रहेको भए मेस्सीलाई सदैव एउटा थकथकी रहिरने थियो ।

विश्वभरका समर्थकहरुको निरन्तर आग्रह र दवावपछि त्यही वर्ष उनले सन्न्यास फिर्ता लिएर फेरि अर्जेन्टिनाको बागडोर सम्हाले । अन्ततः ३४ वर्षको उमेरमा मेस्सीलाई कोपा अमेरिकाको रुपमा राहत मिलेको छ ।

यद्यपि, उनका समर्थकहरु यत्तिमै सन्तुष्ट हुनेवाला छैनन् । उनीहरु मेस्सीको हातमा विश्वकप उपाधि नै हेर्न चाहन्छन् । मेसी स्वयम पनि अर्जेन्टिनालाई विश्वकप नजिताएसम्म शान्त रहन सक्दैनन् । उनको अब एकमात्रै ध्येय विश्वकप उपाधि हो । उनीसँग सम्भवत एउटा मात्रै विश्वकप प्रतियोगिता बाँकी छ । र, कतारमा आगामी वर्ष हुने विश्वकप उपाधि जिते भने मेस्सीलाई ढुक्कसँग फुटबलका सर्वकालीन दिग्गज पेले र म्याराडोनाको हाराहारीमा राख्न सकिनेछ ।

२०१४ मा भएको विश्वकपमा मेस्सीले आफूलाई त्यो सम्भावनाको नजिक पुर्‍याएका थिए । पहिलोपटक उनको नेतृत्वमा विश्वकप खेलिरहेको अर्जेन्टिनाले फाइनलसम्मको यात्रा गरेको थियो । तर, फाइनलमा जर्मनीले बाजी मार्‍याे। मेस्सीले म्यान अफ द टुर्नामेन्टको व्यक्तिगत अवार्डमा नै चित्त बुझाउनुपर्‍याे ।

आज ब्राजिलको जुन स्टेडियममा मेस्सीले कोपा अमेरिकाको उपाधि उचाले, यही स्टेडियममा उनले २०१४ मा विश्वकप फाइनल गुमाएका थिए । यसले पनि मेस्सीलाई अतिरिक्त सान्त्वना मिलेको छ ।

यसअघि कोपा अमेरिकामा मेस्सीले अर्जेन्टिनालाई २०१५ र २०१६ मा दुईपटक फाइनलमा पुर्‍याएका थिए । तर फाइनल हारेर उपाधिबाट चुकेका थिए । तेस्रोपटकमा उनी सफल भएका छन् । ब्राजिलजस्तो विश्व फुटबलको महारथीलाई हराएर फाइनल जित्नुको मज्जा पनि बेग्लै छ ।