भाजपा नेतृत्वको एनडीएको जित र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिएसँगै नेपालमा पर्ने प्रभावबारे अड्कलबाजी सुरु भएको छ।

प्रधामन्त्री केपी शर्मा ओलीले अन्तिम नतिजा आउनुअघि नै बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई दिए।

नेपाल र भारत सम्बन्धका जानकारहरु एनडीएको भारी जितपछि बन्ने सरकारको नेपालमा भाजपा धारको दबाब कुनै न कुनै रुपमा पर्न सक्ने संकेत गर्छन्। यो खबर आजको कान्तिपुर दैनिकमा नयाँ दिल्लीबाट सुरेशराज आचार्यले लेखेका छन्।

‘भाजपाभित्र हिन्दु राष्ट्र र राजतन्त्रको वकालत गर्ने पक्ष अझै बलियो छ,’ नेपाल मामिलाका जानकार प्राध्यापक एसडी मुनी भन्छन्, ‘अब त्यो कसरी हाबी हुन्छ, त्यसैले नै नेपाल –भारत सम्बन्धलाई प्रभाव पार्ने छ।’

भारतले करिब चार वर्ष अघि संविधानमा तराई मधेशका असन्तुष्टि नसमेटिएको भन्दै नेपालसमक्ष खुलेर असन्तुष्टि व्यक्त गरेको थियो।

बाहिरबाट तराई मधेसको सवाल उठाए पनि भित्री रूपमा भारतले नेपालको संविधानमा रहेको धर्म निरपेक्षताप्रतिको असहमतिका रूपमा पनि कतिपयले बुझेका छन् ।

नेपालको राजनीतिक तहले उक्त चासोप्रति बेवास्ता गरेपछि मधेस केन्द्रित दलहरूले गरेको आन्दोलनको आडमा भारत नाकाबन्दीकोतहमा ओर्लेको त्यतिबेलाका घटनाक्रमका जानकारहरूले बताउँदै आएका छन् ।

मुनीले भने दिल्लीमा बन्ने नयाँ सरकारले नेपालीहरूको मन दुखाउने गरी कुनै कदम नचाल्ने कुरामा आफू विश्वस्त रहेको बताए ।
 
‘हिजो के कारणले त्यस्तो घटना भयो त्यता नजाऊँ, तर अब भने कुनै पनि कदम चाल्दा नेपालीको चित्त दुख्छ कि भन्नेमा विशेष सजग हुनुपर्छ । नेपाली पक्षबाट पनि त्यस्तै व्यवहार होस् भन्ने भारतीय अपेक्षा भने स्वाभाविक हुनेछ,’ उनले भने ।