पथरीशनिश्चरे, १४ । फागुन मोरङको सुनवर्षी नगरपालिका-२ स्थित संचालन भैरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवान गोल्डकप-०७८ को दोस्रो खेलमा द योङ्ग व्रोदर्स- ईटहरी, सुन्सरी विजयी भएको छ ।
शनिबार आयोजित प्रतियोगितामा द योङ्ग व्रोदर्स-ईटहरी सुन्सरीले हेटौंडाको पिप्ले यूवा क्लवविरूद्ध १ -० को अन्तरले गोल गर्दै विजय हासिल गरेको हो । ३० वर्ष माथिका खेलाडीहरूले भाग लिएको शनिबार भएको प्रतियोगितामा पिप्ले युवा क्लब, हेटौंडामा अनुवन्धित नाईजेरियन खेलाडी साहिद लगायतका राष्ट्रिय स्तरमा ख्याति कमाएका खेलाडीहरूको खेल अति नै प्रतिपर्धात्मक रहेको थियो ।
प्रतियोगिताको निर्धारित समयको पहिलो हाफमा खेलमा कुनै टिमले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफ सकिनु १४ मिनेट अगाडि ईटहरी भेट्रान फुटबल क्लबको जर्सी नं ७ का खेलाडी जयनारायण चौधरीले गोल गरेर आफ्नो टिमलाई विजयी तुल्याएका थिए। आजको प्रतियोगितामा "म्यान अफ दि म्याच' इटहरीका खेलाडी जयनारायण चौधरी घोषित भएका हुन् । उनलाई ५ हजार रुपैयाँ नगदसहित पुरस्कृत गरियो।
भोलि आइतबारको प्रतियोगिता पूर्वाञ्चल फुटबल क्लब, झापा र हिजोको विजेता मानेभञ्ज्याङ भेट्रान क्लब, दार्जिलिङ विच क्वाटरफाइनलको खेल हुने आयोजकले जनाएको छ । अमरदह ढल्केजोवान युवा क्लबको ज्ञान, एकता मित्रता सदभाव सुनबर्षीको पहिंचान भन्ने मुल नाराका साथ सुनबर्षी नगरको शानको रुपमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्के जोवन गोल्ड कप -०७८ रहेको अध्यक्ष प्रताप तामाङ्गले बताउनुभयो ।
विरेन्द्र सार्वजनिक माविको खेलमैदानमा संचालन भैरहेको उक्त प्रतियोगिता सफलताका साथ सम्पन्न गर्नका लागि रंगशाला व्यवस्थापन र दर्शकको लागि व्यवस्थित पारापिट निर्माण गरिएको छ भने खाने - बस्ने सहितको खेलाडीहरूको लागि आवास तथा यातायात सुविधा , सुरक्षा लगायतका विभिन्न व्यवस्था पुर्ण रूपमा मिलाईएको छ ।
प्रतियोगितामा भुटानको फेर्ण्स भेट्रान फुटबल क्लव तथा भारतको मानेभञ्ज्याङ दार्जिलिङ फुटबल क्लब र सिक्किम भेट्रान फुटबल क्लबले भाग लिने छन् भने नेपालका नेपाल आर्मी क्लब, शसस्त्र प्रहरी बल( APF) , पोखरा-११ , बुटवल भेट्रान क्लब , हेटौडा भेट्रान क्लब, सुनसरी भेट्रान क्लब , काठमाडौंको लक्षुमण भेट्रान क्लब , झापा भेट्रान फुटबल क्लब तथा आयोजक मोरङ्ग भेट्रान फुटबल क्लबहरूले सहभागिता जनाउने अध्यक्ष प्रताप तामाङ्गले बताउनुभयो ।
प्रतियोगितामा विजयी हुने प्रथम टिमलाई ५ लाख ११ हजार रुपैयाँ तथा द्वितीय हुने टिमलाई २ लाख ५१ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको फाइनलमा उत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ , उत्कृष्ट गोलरक्षक र रेफ्री लगायतका विभिन्न विधामा १६ १६ हजारका दरले नगद , ट्रफी ,मेडल तथा प्रमाणपत्रले पुरस्कृत तथा सम्मान गरिनेछ।




















