लेटाङ,७ चैत । स्थानीय र प्रहरीबीच भएको झडपका क्रममा एक महिला प्रहरी जवानको मृत्यु भएपछि मोरङको लेटाङमा सोमबार बिहानैदेखि कर्फ्यु लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना निकालेर आज बिहान ७ बजेदेखि कर्फ्यु लगाएको हो। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अनिश्चितकालीन कर्फ्यु लगाइएको बताए।

दक्षिणमा लेटाङ नगरपालिका ३ र ४, लेटाङ ५ का सबै क्षेत्र, उत्तरमा लेटाङ ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङेखोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्र तोकेर कर्फ्यु लगाइएको छ।

फागुपूर्णिमाका दिन शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेको विषयमा बिबाद हुँदै जाँदा घटना भएको हो। आक्रोशित स्थानीय र प्रहरीबीच आइतबार भएको झडपमा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। घाँटीमा छुरा प्रहारबाट गम्भीर घाइते उर्मिलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। घटनामा मोरङ प्रहरी उपरीक्षकसहित १० जनाभन्दा बढी प्रहरी र स्थानीय बासिन्दा घाइते छन्।

छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै आक्रोशित शिक्षा विकास माविका विद्यार्थी र स्थानीयले प्रहरीसँग आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका थिए। तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको थियो।

276168304_3196104160607581_7160733936008622379_n (1)