नेकपाका नेता मानबहादुर श्रेष्ठ र विद्या चाम्लिङ दम्पत्ती कोरोना संक्रमणका कारण विगत एक महिना ५ दिनदेखि होम आइसोलेसनमा छन् । दुई पटक पीसीआर परीक्षण गराउँदा पनि उनीहरुमा कोरोना संक्रमण पुनः देखियो ।
हिजोआज उर्लावारी-७ स्थित निवासमा स्वास्थ्य लाभ गरिरहेका छन् । हाल कुनै लक्षणहरु नदेखिएपनि श्रेष्ठ दम्पत्तिको अवस्था अहिले सामान्य छ । उनीहरुको भनाइमा भने 'पूर्ण स्वस्थ्य' छन् ।
मंगलबारे पेजले श्रेष्ठ दम्पत्तिसँग एक महिनाको होम आइसोलेसनमा बस्दाको अनुभव र कोरोना सम्बन्धीको अनुभव भन्न आग्रह गर्दा उनीहरुले मुख्य रुपमा कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गरे ।कोरोना संक्रमितहरुलाई पछिल्लो समय समाजले नराम्रो नजरले हेर्ने गरेको भन्दै यो मानसकिता हटाउन जरुरी रहेको नेता श्रेष्ठले बताए । उनले भने,'यहाँ कुकुरको मान सम्मान छ तर एक कोरोना संक्रमितलाई हेर्ने नजर कुकुरभन्दा पनि तल्लो रहेछ । यो मानसिकता परिवर्तन गर्न जरुरी छ ।' नेतृ चाम्लिङको भनाइ पनि उही थियो । उनले कोरोना संक्रमितहरुलाई हेला गर्ने भन्दा पनि सहानूभूति र हौसला दिनुपर्नेमा जोड दिएकी छन् ।
उनीहरुले कोरोना संक्रमित भयो भन्दैमा कसैलाई पनि बाहिष्कार नगर्न आग्रह गरेका छन् । उनीहरुले संक्रमितहरुलाई हौसला दिने तथा उनीहरुसँग फोन संवाद गर्ने वा भौतिक दूरी कायम गरेर टाढैबाट पनि स्वास्थ्य लाभ दिन सकिने बताए । श्रेष्ठले भने,'हामीलाई पनि सुरु सुरुमा कोरोना संक्रमण हुँदा त्यस्ते भयो । साथीभाइहरु आउन थालेपछि केही हलुका भयो । तर सामान्य नागरिकहरुलाई कोरोना संक्रमण हुँदा सहानूभुति दिने र हौसला दिने काम बढाउनुपर्छ ।'
उनीहरुले कोरोना संक्रमणका बेला रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा खानपिनमा बढी ध्यान दिन पनि आग्रह गरेका छन् । कोरोना संक्रमित भएपछि नेता श्रेष्ठले दिनमा १२ पटकसम्म खाना खाएको अनुभव सुनाए । उनले भने,'मैले त योगासँगै दैनिक रुपमा १२ पटकसम्म खाना खाएछु !' नेतृ चाम्लिङले भने दैनिक ५ देखि ६ पटकसम्म खाना खाएको अनुभव सेयर गरिन् ।
उनीहरुले कोरोना संक्रमणको शंका लागेमा तुरुन्त स्वास्थ्य परीक्षण गराएर आफ्नो स्वास्थ्य अवस्थाबारे थाहा लिन आग्रह गरे । यसो गर्दा आफू र अन्यलाई पनि असर नगर्ने उनीहरुको तर्क छ । संक्रमितहरुलाई हौसला दिने काम गर्न पनि उनीहरुले आग्रह गरेका छन् । ठूलै अपराध गरे जसरी संक्रमितहरुलाई बाहिष्कार गर्ने जस्ता कामहरु नगर्न उनीहरुले सबैलाई अपिल गरेका छन् । मंगलबारे पेजबाट



















