काठमाडौ—सरकारले हप्तामा दिइँदै आएको दुई दिने सार्वजनिक बिदाको व्यवस्था हटाउने तयारी गरेको छ। कार्यान्वयनमा आएको केही समयमै यो व्यवस्था अपेक्षाअनुरूप प्रभावकारी नदेखिएको निष्कर्षसहित सरकारले पुनः पुरानै ढाँचामा फर्कने तयारी गरेको हो।
गृह मन्त्रालय स्रोतका अनुसार पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले गत चैत २२ गतेबाट सुरु गरिएको दुई दिने बिदाको व्यवस्थाले सोचेजस्तो नतिजा दिन सकेन। बरु यसले सेवा प्रवाह, प्रशासनिक कामकाज र समग्र आर्थिक गतिविधिमा प्रतिकूल असर पारेको गुनासो चौतर्फी रूपमा बढेको थियो।
अब बस्ने मन्त्रिपरिषद्को बैठकले यस विषयमा औपचारिक निर्णय लिने स्रोतले जनाएको छ। मन्त्रिपरिषद्बाट निर्णय पारित भएसँगै सरकारी कार्यालय, विद्यालय र सार्वजनिक निकायहरूमा शनिबार मात्रै बिदा दिने साविकको व्यवस्था पुनः कायम हुनेछ।
पेट्रोलियम पदार्थको बढ्दो मूल्य र खपतलाई नियन्त्रण गर्न प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको थियो। तर, लामो समय बिदा हुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको र दैनिक प्रशासनिक कार्यतालिकामा ढिलासुस्ती भएको भन्दै निजी तथा सार्वजनिक क्षेत्रबाट आलोचना हुँदै आएको थियो।
सरकारको यो कदमले अब सेवा प्रवाहलाई छिटोछरितो बनाउने र सार्वजनिक कार्यहरूलाई नियमित रूपमा सञ्चालन गर्ने अपेक्षा गरिएको छ। मन्त्रिपरिषद्को निर्णयपछि यो व्यवस्था कहिलेदेखि कार्यान्वयनमा आउँछ भन्ने स्पष्ट हुनेछ।


















