विराटचोक—मोरङको सुन्दरहरैचा-९ स्थित बुधबारे बजारमा विगत ४ दिन देखि एउटा सिटी सफारी (विद्युतीय रिक्सा) बेवारिसे अवस्थामा फेला परेको छ। बुधबार स्थानीय बजार व्यवस्थापन समितिले यस बारेमा आधिकारिक जानकारी दिएको हो।
रातो र बैजनी रङको उक्त सिटी सफारीको अगाडि भागमा "श्री माई भगवती यातायात प्रा.लि. दमक-१, झापा" लेखिएको छ।
उक्त सिटी सफारीलाई लिन हालसम्म कोही पनि नआएकाले स्थानीयबासीहरूले चिन्ता र आशंका व्यक्त गरेका छन्। कुनै चोरले अन्य स्थानबाट चोरी गरेर ल्याई पहिचान लुकाउन यहाँ बेवारिसे अवस्थामा छोडेको हुन सक्ने स्थानीयको अनुमान छ।
उक्त सफारीको पछाडि "श्रेष्ठ अटो सफारी डेकोरेसन, पथरी (मो. ९८१०२३८२७९)" र "दमक (मो. ९८१६३२५३२८)" लेखिएको स्टिकर समेत प्रष्ट देखिन्छ, जसले यो सवारी दमक वा पथरी क्षेत्रको हुन सक्ने संकेत गर्दछ।
सवारी साधन शंकास्पद र बेवारिसे अवस्थामा भेटिएपछि स्थानीयबासी तथा बजार व्यवस्थापन समितिले तत्कालै प्रहरी कार्यालय विराटचोकलाई जानकारी गराएका थिए। तर, जानकारी गराउँदा समेत प्रहरीले उक्त बेवारिसे सवारीलाई नियन्त्रणमा लिन वा अनुसन्धान गर्न कुनै चासो नदेखाएको र पूर्ण रूपमा बेवास्ता गरेको भन्दै स्थानीयहरूले आक्रोश र गुनासो पोखेका छन्।
स्थानीयहरूले सम्बन्धित सवारी धनीलाई यी तस्बिर र विवरणका आधारमा आफ्नो सवारी पहिचान गरी सम्पर्क गर्न तथा प्रहरीलाई तत्काल आफ्नो जिम्मेवारी वहन गर्न माग गरेका छन्।


















