विराटनगर—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी गाउँपालिका–१ स्थित लौकही सिटी हलमा जारी प्रथम सुनसरी जिल्ला अधिवेशनमा तीव्र विवाद र तनाव उत्पन्न भएको छ। नयाँ पुस्ताका 'जेनजी' (Gen Z) युवा तथा पार्टीका रुष्ट कार्यकर्ताहरूलाई पेलेर अघि बढ्न खोजेपछि बन्दसत्र हलभित्रै हातहालाहालको अवस्था सिर्जना भएको असन्तुष्ट पक्षले जनाएको छ।
अधिवेशनको मतदान प्रक्रिया सुरु हुन लाग्दा मताधिकार सूचीबाट केही बेरअघि मात्रै रहस्यमय ढंगले आफूहरूको नाम हटाइएको भन्दै युवा प्रतिनिधिहरू आक्रोशित बनेका थिए। आफ्नो लोकतान्त्रिक अधिकार खोसिएको विरोधमा रुष्ट युवाहरूले बन्दसत्र हल प्रवेश गर्ने मूल ढोका नै थुनेर धर्ना दिएका थिए।
लामो समयसम्म ढोका बन्द गरी धर्ना जारी रहेपछि निर्वाचन समिति र संस्थापन पक्षले युवाहरूलाई बलपूर्वक त्यहाँबाट हटाएर चुनावी प्रक्रिया अगाडि बढाउन खोजेको थियो। धर्नामा बसेकाहरूलाई हटाएर जबरजस्ती मतदान सुरु गरिएपछि दुई पक्षबीच विवाद बढ्दै जाँदा हातहालाहाल भएको प्रत्यक्षदर्शीले बताएका छन्। चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न नियोजित रूपमा प्रतिनिधिहरूको नाम सूचीबाट हटाइएको असन्तुष्ट पक्षको आरोप छ।
बन्दसत्र हलभित्र रास्वपा कार्यकर्ताहरूबीच तनाव बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। घटनाबारे जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी चन्द्र खड्काले केही बेर विवाद र होहल्ला भए पनि हातहालाहाल भने नभएको दाबी गरेका छन्।
"हात हालाहाल भएको होइन। केही बेर होहल्ला र विवाद भएको थियो। अहिले परिस्थिति पूर्ण रूपमा सामान्य भइसकेको छ र मतदान कार्य भइरहेको छ," डिएसपी खड्काले भने।
प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको र मतदान जारी रहेको बताए पनि नाम काटिएका जेनजी युवा र असन्तुष्ट कार्यकर्ताहरूले भने नयाँ पार्टी भनिए पनि नेतृत्वले पुरानै शैलीमा शक्तिको दुरुपयोग गरेर आफूहरूलाई पेल्न खोजेको भन्दै आक्रोश पोखिरहेका छन्। तनावका बीच अहिले कडा सुरक्षा घेराभित्र लौकही सिटी हलमा मतदान कार्य जारी राखिएको छ।




















