विराटनगर—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मोरङको जिल्ला अधिवेशनबाट भरतराज कँडेल सभापति पदमा निर्वाचित भएका छन्। तदर्थ समितिका सभापति समेत रहेका कँडेलले अन्य प्रतिस्पर्धीहरूलाई पराजित गर्दै नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।

सभापति पदका लागि कँडेलसँगै कोषराज खनाल र सागर फुयाँल चुनावी मैदानमा थिए। सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास सफल हुन नसकेपछि मतदान प्रक्रियामार्फत नयाँ कार्यसमिति चुनिएको हो।

अधिवेशनबाट उपसभापतिमा बिमला बस्नेत निर्विरोध निर्वाचित भएकी छन् भने सचिव पदमा दिवस नेपाल र सहसचिवमा सिर्जना गिरी आचार्य विजयी भएका छन्। सचिव पदका लागि दिवस नेपालसँगै सुरेशकुमार श्रेष्ठ र कुमार फुयालले उम्मेदवारी दिएका थिए। त्यस्तै, सहसचिवमा विजयी सिर्जना गिरी आचार्यले सिर्जना पौडेललाई पराजित गरेकी हुन्। पौडेल यसअघिको कार्यसमितिमा पनि सहसचिव थिइन्।

सभापतिमा निर्वाचित कँडेल उर्लाबारी निवासी हुन्। शिक्षण पेसाबाट राजनीतिमा होमिएका उनी रास्वपा मोरङका संस्थापक सभापति समेत हुन्। उनले उर्लाबारीका विभिन्न विद्यालय तथा क्याम्पसहरूमा अध्यापन गर्नुका साथै काउन्सिलरका रूपमा समेत काम गरिसकेका छन्।

त्यसैगरी, सचिवमा निर्वाचित दिवस नेपाल भने नेपाली कांग्रेसको पृष्ठभूमिबाट रास्वपामा प्रवेश गरेका हुन्। कांग्रेस विराटनगर महानगर समितिको उपसचिव रहेका नेपाल 'जेन्जी (Gen-Z) आन्दोलन' बाट प्रभावित भई रास्वपामा आबद्ध भएका थिए।