काठमाडौं— बल्खु क्षेत्रमा खाली गरिएको सुकुमवासी बस्ती नजिक खोलामा एक पुरुष मृत फेला परेका छन्।

मृतक ६१ वर्षीय इन्द्रबहादुर राई रहेको प्रहरीले जनाएको छ। शुक्रबार बिहान घर भत्किएपछि ‘हेर्न सक्दिनँ’ भन्दै घरबाट निस्किएका राई दिउँसो बल्खु खोलामा मृत अवस्थामा फेला परेका हुन्।

उनकी पत्नी सरिता राईका अनुसार, बिहान घर भत्काइँदा राई मानसिक रूपमा विचलित देखिएका थिए। “घर भत्किएको देख्न सक्दिनँ भन्दै एक्लै निस्किनुभएको थियो,” उनले भनिन्।

घटनापछि सरिता र उनका छोरा घटनास्थलमै पुगेका छन्।

स्थानीयका अनुसार, राईको परिवार विगत करिब १६–१७ वर्षदेखि बल्खुस्थित सुकुमवासी बस्तीमा बस्दै आएको थियो। उनी बल्खु सब्जीमण्डी क्षेत्रमा काम गर्ने गरेको बताइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यस अघि पनि सुकुम्बासी बस्तिमा रहेका १९ वर्षिय रविन तामाङले आत्महत्या गरेका थिए ।