काठमाडौं— बजेट घोषणा हुनुअघि विभिन्न भन्सार नाकाबाट विद्युतीय सवारीसाधन (ईभी) जाँचपास गरिएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई जोडेर फैलाइएका अफवाह र चरित्रहत्याको प्रयासप्रति अर्थमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ।
अर्थमन्त्रीका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले विज्ञप्ति जारी गर्दै रसुवागढी भन्सार नाकामा भन्सार बिन्दुमै नपुगेका सवारीसाधनको जाँचपास भएको भन्ने विषयमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले अनुसन्धान गरिरहेको बताएका छन्।
विज्ञप्तिअनुसार जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभाग तानिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको सचिवालयले जनाएको छ।
त्यस्तै, मुस्ताङको कोरला नाकाबाट जाँचपास भएका ईभीबारे पनि मन्त्रालयद्वारा गठित समितिले स्थलगत अनुसन्धान अघि बढाएको छ। मन्त्रालय र भन्सार विभागका उपसचिवहरूको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली फिल्डमै खटिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा भन्सार छलीको आशंकामा केही सवारीसाधन र आयातकर्ता कम्पनीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ। संलग्नमाथि कानुनी प्रक्रिया सुरु भइसकेको तथा केहीमाथि थप कानुनी उपचारको तयारी भइरहेको सचिवालयले जनाएको छ।
सचिवालयले अर्थमन्त्री र मन्त्रालयसँग सम्बन्धित विषयमा समाचार बनाउँदा जिम्मेवार निकायसँग तथ्य पुष्टि गरेर मात्रै सामग्री प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।



















