लेटाङ,७ चैत । प्रहरी जवान उर्मिला श्रेष्ठले सेवाकै दौरान आइतबार मोरङको लेटाङमा ज्यान गुमाइन्। उनी अढाई वर्षदेखि प्रहरी सेवामा कार्यरत थिइन्। उनका दाजु भुवन पनि प्रहरी सेवामै छन्। विराटनगरको बखरी प्रहरी चौकीमा सहायक निरीक्षक उनी बहिनीको हत्यापछि विह्वल छन्।

लेटाङमा उत्पन्न तनावले उग्र रूप लिँदा उर्मिला मारिएकी थिइन्। आइतबार मोरङको लेटाङ नगरपालिका(५ मा स्थानीयको आक्रमणबाट मारिएकी प्रहरी जवान उर्मिला २०७६ साउन १ गते सेवामा प्रवेश गरकी हुन्। १ नम्बर प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरमा दरबन्दी भएकी उर्मिलासहितको टोली आइतबार दिउँसो लेटाङतर्फ गएको थियो।

तराईको होलीको दिन चैत ४ मा शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रालाई घरैमा गएर दुर्व्यवहार गरेपछि आइतबार विद्यार्थी र स्थानीय आन्दोलित भएका थिए। एकाएक अवस्था असामान्य बन्दै गएपछि मोरङ प्रहरीले १ नं प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रानी विराटनगरबाट ५० जनाको थप मद्दत झिकाएको थियो। त्यही टोलीमा उर्मिला पनि लेटाङ पुगेकी थिइन्।

यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीले आरोपित शिक्षकलाई नियन्त्रणमा लियो। यता गाउँलेहरू भने प्रहरीले उनलाई बचाउन लागेको भन्दै थप आक्रोशित भए। दिउँसो एक बजे नै घटनास्थल पुगेको प्रहरीलाई स्थानीयबासीले दिनभरजसो छेके। साँझतिर झडप सुरू भयो। त्यही क्रममा भीडबाट कसैले उर्मिलाको घाँटीमा चक्कु प्रहार गरेको प्रहरी भनाइ छ।

‘उहाँको घाँटीमा चक्कु प्रहार भएपछि गम्भीर घाइते हुनुभयो,’ मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने, ‘उपचारका लागि ल्याउँदै गर्दा उहाँको बाटोमै निधन भयो।’ झडपका क्रममा एक्कासी उर्मिला ‘ऐय्या ’ भनेर चिच्याएको आवाज आएको प्रहरीहरू बताउँछन्। ‘उनले ऐय्या भनेको सुनेपछि हेरेको घाँटीबाट भलभल रगत आइरहेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘उनको उपचार पनि हुन पाएन। बाटैमा ज्यान गयो।’

बुवा कुमार र आमा सीतामायाकी एक्ली छोरी उर्मिला २०५२ कातिक १४ गते खोटाङ बरहापोखरीमा जन्मेकी थिइन्। उदयपुरको त्रियुगा जनता क्याम्पसबाट बिबिएस गरेपछि उनी प्रहरी सेवामा प्रवेश गरेकी हुन्। उनका श्रीमान कुमार श्रेष्ठ पनि प्रहरी सेवामै छन्। इलाममा कार्यरत उनी पत्नी मारिएको घटनापछि विराटनगर आएका छन्। उनीहरूको गत वैशाख १९ गते विवाह भएको थियो। आउँदो वैशाख १९ मा उनीहरू विवाह बन्धनमा बाँधिएको पहिलो वर्ष पूरा हुँदै थियो।

‘उहाँहरू एकै ठाउँ बस्ने तारतम्य मिलाउने प्रयासमा हुनुहन्थ्यो,’ कोशी अस्पताल परिसरमा खटिएका उर्मिलाका साथी प्रहरीहरू भन्दै थिए, ‘तर, त्यो समय नआई सदाका लागि उहाँहरूले छुट्टिनुपर्‍यो।’ Betana daily