बिराटनगर,२१ चैत । प्रदेश १ सरकारले प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बाबा मेन्याङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई बर्खास्त गरेको छ। सरकारलाई असहयोग गरेको, खेलकुद क्षेत्रमा कुनै काम नगरेको भन्दै उनीहरूलाई हटाएको हो।
सोमबारको मन्त्रिपरिषद बैठकले मेन्याङ्बो र बस्नेतलाई पदमुक्त गरेको हो। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले गएको असोज २४ गते प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष, सदस्यसचिव र सदस्यहरू नियुक्त गरेका थिए। प्रदेश खेलकुद ऐन अनुसार बोर्ड पदाधिकारीको कार्यकाल चार वर्षको हुन्छ।
एमाले कोटामा नियुक्त उनीहरूलाई सरकारले ६ महिनामै हटाएको हो। राजेन्द्र राई मुख्यमन्त्री बनेर नयाँ मन्त्रिपरिषद बनेपछि सामाजिक विकास मन्त्री राजन राईले माघ अन्तिममा मेन्याङ्बो र बस्नेतलाई तीन दिने स्पष्टीकरण सोधेका थिए।
उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएको सरकारले बताउँदै आएको थियो। नयाँ सरकार बनेलगत्तैदेखि उपाध्यक्ष र सदस्यसचिव भूमिकाविहीन पारिएका थिए। सरकारले बोर्डको बजेट रोक्का गरिदिएको छ।
पर्शुराम बस्नेतको सदस्यससचिव बन्ने योग्यता नपुग्ने भन्दै सरकारले स्पष्टीकरण सोधेको थियो। प्रदेश खेलकुद बोर्डको सदस्य सचिव बन्न कम्तीमा १० वर्ष खेलकुद क्षेत्रमा योगदान दिएको र असल चालचलन भएको हुनुपर्ने कानुनी प्रावधान छ। प्रदेश सरकारले उनीहरुलाई बर्खास्त गरे पनि नयाँ पदाधिकारी नियुक्त भने गरेको छैन। सेतोपाटी बाट




















