इटहरी,२२ चैत । मोरङ स्थित सुन्दरहरैचाको सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौंको न्यूरोड टिम (एनआरटी) विरुद्व ३–० ले पराजित गर्दै सगरमाथा युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।

सुनसरीको इटहरीमा जारी १२ औँ संस्करणको अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा सगरमाथाका लागि पहिलो हाफको तीन मिनेटमै आभाष लामिछानेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको २४ मिनेटमा प्रदीप लामाले थप एक गोल गरे ।

खेलको २८ मिनेटमा पुन आभाषले नै गोल गर्दै सहज जीत निकालेका हुन् । खेल अवधिभर गोल गर्ने प्रयत्न गरेपनि एनआरटी असफल बन्दा सगरमाथाका लागि सहज जीत हात परेको हो । खेलको म्यान अफ द म्याच उनै आभाष हुँदै नगद १० हजार हात पारे ।

चैत २६ गतेसम्म हुने प्रतियोगितामा दुई बिदेशी सहित ८ टिमले सहभागी जनाएका छन् । प्रतियोगिताको बिजेताले सात लाख पाउनेछन् भने उपबिजेताले तीन लाख पचास हजार पाउने आयोजक राष्ट्रिय जागृति क्लबले जनाएको छ ।