विराटचोक,१९ जेठ । आगामी आर्थिक वर्षका लागि संघीय सरकारले विनियोजन गरेको बजेटमा मोरङको विराटनगर महानगरपालिकाले १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ ।

चालु आर्थिक वर्षमा विराटनगरले १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ बजेट पाएको थियो । विराटनगरलाई आगामी वर्षका लागि विशेष अनुदानमार्फत ४ करोड, सशर्त ७२ करोड १७ लाख रुपैयाँ र समानीकरण अनुदानमार्फत ४५ लाख ६८ हजार रुपैयाँ दिइने भएको छ ।

त्यस्तै, नगरपालिकातर्फ सबैभन्दा धेरै रकम सुन्दरहरैंचा नगरपालिकाले पाएको छ । सुन्दरहरैंचाले ६८ करोड २७ लाख अनुदान पाउने भएको छ । सबैभन्दा कम अनुदान पाउने नगरपालिका भने लेटाङ नगरपालिका हो । लेटाङ नगरपालिकालाई ३६ करोड ३९ लाख रुपैयाँ पाउने भएको छ ।

उर्लाबारी नगरपालिकालाई ६१ करोड १७ लाख, पथरीशनिश्चरे नगरपालिकालाई ४६ करोड ३० लाख, बेलबारी नगरपालिकालाई ५२ करोड ३९ लाख, रंगेली नगरपालिकालाई ४७ करोड ३२ लाख, रतुवामाई नगरपालिकालाई ५१ करोड ६९ लाख र सुनवर्षी नगरपालिकालाई ३९ करोड ६६ लाख बजेट विनियोजन भएको छ ।

गाउँपालिकातर्फ बुढीगंगा गाउँपालिकाले सबैभन्दा धेरै ४३ करोड ६२ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम भने कटहरी गाउँपालिकाले ३३ करोड ३१ लाख रुपैयाँ पाएको छ ।

कानेपोखरी गाउँपालिकाले ३९ करोड ७७ लाख, केराबारी गाउँपालिकाले ३५ करोड ६२ लाख, ग्रामथान गाउँपालिकाले ३६ करोड ८५ लाख, जहदा गाउँपालिकाले ३८ करोड २२ लाख, धनपालथान गाउँपालिकाले, ३७ करोड १६ लाख र मिक्लाजुङ गाउँपालिकाले ३८ करोड २ लाख रुपैयाँ बजेट पाएका छन् ।