धरान –धरानकी पूर्व उपमेयर मन्जु भण्डारीले जेनजी आन्दोलनका क्रममा आफ्नो घर ध्वस्त भएको घटनाप्रति गहिरो पीडा व्यक्त गर्दै सरकारले निष्पक्ष र पारदर्शी छानबिन गर्नुपर्ने माग गरेकी छन्।
भण्डारीले फेसबुकमा लेखेकी छन्, “आज हाम्रो घरका सम्पूर्ण वस्तु र संरचना डढाएर तोडेर विध्वंस गरिएको छ। ८२ वर्षकी सासू, ११ वर्षकी अवोध छोरी, ४० वर्षदेखि राजनीतिमा सक्रिय मेरा श्रीमान् र अन्य परिवारका सदस्य सुरक्षित भए पनि हामी छाना, नाना र खाना विहिन भयौँ। यो पीडा जेनजी आन्दोलनको नाममा भएको विध्वंस भन्दा बढी छ।”
उनले थपिन्, “हामीले कुनै नाजायज काम गरेका भए हामीलाई तोकेका कठोर सजाय स्वीकार्य छ। तर नभएमा, जेनजी आन्दोलनको नेतृत्वले हाम्रा सन्तानहरुलाई जवाफ दिनु पर्छ।”
भण्डारीले आफ्नो परिवारले ३० वर्षभन्दा बढी धरानमा बिताएको जीवन, कठिन परिश्रम र पुर्ख्यौली सम्पत्तिहरूको क्षति भएको उल्लेख गर्दै भनिन्, “धुँवाको मुस्लोमा हाम्रो श्रम, पसिना र स्मृतिका सामग्रीहरू सबै उडाइयो। हाम्रो परिवारलाई भ्रष्ट र अपराधीको रूपमा चित्रित गर्ने प्रयासले अझ बढी पीडा दिएको छ।”
उनी न्याय, समानता र जवाफदेही सरकारको पक्षमा सधैं लड्ने योद्धा भएको उल्लेख गर्दै लेखिन्, “अबोध बाबु–नानीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।”
अन्त्य गर्दै भण्डारीले लेखिन्, “घर ध्वस्त पार्ने कार्यका मतियारहरूले सुनून्, अब त्यही खरानीमा उभिएर हामी नयाँ जीवनको यात्रा सुरु गर्नेछौँ।”


