रुपन्देही,४असार । रुपन्देहीको भैरहवास्थित होटल पौवाको व्यवसायिक पौडी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलका अनुसार साँझपख साथीहरुसँग पौडी खेल्न गएका सिद्धार्थनगर नगरपालिका-६ बस्ने २७ वर्षिय सुमित तुलाधरको डुबेर मृत्यु भएको हो ।

शुक्रबार साथीहरुसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर सवा ५ बजेतिर स्विमिङ्ग पुलमा डुबेका उनलाई उद्धार गरी अस्पताल लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तीन दिनअघि पनि रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ मा रहेको बिग चियर रिर्सोटको पौडी पोखरीमा डुवेर न्यु लाइट विद्यालयका एक शिक्षकको ज्यान गएको थियो ।