विराटचोक,१७ असार । मोरङको सुन्दरहरैंचा नगरपालिकाले तेक्वान्दो खेलाडीलाई विजयको शुभकामनासहित बिदाइ गरेको छ ।

असार १७ र १८ गते सुनसरीको धरानमा हुने प्रदेशस्तरीय अन्तर नगरपालिका स्तरीय तेक्वान्दो प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिकाबाट सहभागीहुने खेलाडीलाई नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ र उपप्रमुख अकलि चौधरीले विजयको शुभकामनासहित बिदाइ गरेका हुन ।

बिहिबार सुन्दरहरैंचा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख गुरागाईँले सम्बोधन गर्दै विजयी भएर आउन टिमलाई शुभकामना दिएका थिए । । नगरले खेल र खेलाडीको सधैँ कदर गर्ने बताउँदै उनले खेलाडीको हौसला बढाउन शनिबार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पनि प्रतियोगितास्थलमा उपस्थित हुने जानकारी दिए ।

खेल प्रशिक्षक सूर्य दङ्गालका अनुसार प्रतियोगितामा बालसदन एकेडेमीबाट २, टेन्डरफिट बोर्डिङबाट ४ ओरिजिनबाट १ र गछियाबाट १ जना गरी ८ जना खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । ४ जना महिला र ४ जना पुरुषले प्रतियोगितामा सहभागिता जनाउने भएका हुन् ।

सुन्दरहरैंचाको पुरुष तर्फबाट ३० केजी तौल समूहबाट सुवास दर्जीले प्रतियोगितामा भाग लिने भएका छन् । ३५ केजी तौल समूहबाट दर्पण डाँगी, ४४ केजी तौल समूहबाट सविन तामाङ र ५० केजी तौल समूहबाट चिरञ्जीवी भण्डारीले भाग लिने भएका छन् ।

महिलातर्फ ३८ केजी तौल समूहबाट कल्पना पाण्डे, ४३ केजी तौल समूहबाट जेसिका खनाल, ४६ केजी तौल समूहबाट विपना श्रेष्ठ र ५३ केजी तौल समूहबाट मलिस्का लावतीले भाग लिने भएका छन् ।