मेक्सिकोसिटी,३२ असार ।। मेक्सिकोको उत्तरी भागमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ। देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो।

लागूऔषध तस्करी एवं ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले जनाएको छ। दुर्घटनामा एकजना भने बाँच्न सफल भएका छन्।

नौसेनाको स्वामित्वमा रहेको ब्ल्याक हक हेलिकप्टरले उत्तरी राज्य सिनालोआमा एकदिन अघि पक्राउ परेका गुआडालाजारा कार्टेलका संस्थापक राफेल कारो क्विन्टेरो बोकेको अर्को विमानको सुरक्षा गरिरहेको थियो।

दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति नौसेनाले शोक व्यक्त गरेको छ। दुर्घटनाको कारण अज्ञात छ। कथित लागूऔषध तस्करको गिरफ्तारीका कारण उक्त दुर्घटना नभएको नौसेनाले जनाएको छ।