काठमाडौं, ८ साउन । भक्तपुरको सल्लाघारीस्थित ग्रिनल्याण्ड होटलको गेट अगाडि रुख ढल्दा बस र स्कुटरमा सवार तीनजनाको मृत्यु भएको छ ।
ठिमीबाट दुधपाटीतर्फ आउँदै गरेको बा २ ख ३५८४ नं को यात्रु बाहक बस र भक्तपुर दुधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नं का स्कुटरलाई रुखले किचेको प्रहरीले जनाएको छ ।
घटनामा अन्य १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। मृत्यु भएका तीनमध्ये एकजनाको सनाखत भएको र दुईजनाको सनाखत हुन नसकेको प्रजिअ शर्माले जानकारी दिइन्। मृतक नितेश खर्वुजाको सनाखत भएको हो ।
अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताइन्। घाइतेहरुको युवामोरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले घाइतेहरुको उद्दार गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।



















