हरेक वर्ष सरकारले बजेटमा महत्वाकांक्षी र लोकप्रिय कार्यक्रम घोषणा गर्छ। तर, त्यसको कार्यान्वयन भने निराशाजनक देखिने गरेको छ।

इतिहासमै शक्तिशाली दुईतिहाइको सरकारले ल्याएको गत वर्षको बजेटको कार्यान्वयन पनि फितलो रह्यो ।

यसले बजेट निर्माताको अपरिपक्वता मात्र झल्काउँदैन, सरकारप्रति नागरिकको विश्वाससमेत घट्दै गएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

बजेटलाई आमनागरिकले गम्भीर रूपमा लिनै छाडेका छन् । बजेटमा हावादारी कार्यक्रम घोषणा गरिने र त्यसको कार्यान्वयन पक्ष एकदम फितलो हुने परम्परा चालू आर्थिक वर्ष पनि कायम रह्यो । सरकारले आर्थिक वर्ष ०७५–७६ मार्फत घोषणा गरेकामध्ये आधा कार्यक्रम पनि कार्यान्वयन भएनन्।

बजेट घोषणा १
बजेटमा काठमाडौंमा केबलकार, मेट्रो रेल तथा मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन तथा डिपिआर सम्पन्न गरी निर्माण कार्य अघि बढाइने उल्लेख छ । तर, सम्भाव्यता अध्ययन तथा डिपिआर पूरा भएनन् ।

लगानी बोर्डले थानकोटदेखि धुलिखेलसम्मको मेट्रो रेलको सम्भाव्यता अध्ययनको काम गरिरहेको जनाएको छ । त्यस्तै, रेल विभागले सातदोबाटोदेखि बूढानीलकण्ठसम्मको डिपिआर तयारीका लागि खरिद प्रक्रिया सम्पन्न हुने क्रममा रहेको जनाएको छ।

बजेट घोषणा २

कोसी र गण्डकी नदीमा नेपाल र भारतका प्राविधिक टोलीले जल यातायात सञ्चालनबारे स्थलगत अध्ययन गरे । तर, औपचारिक रूपमा सम्भाव्यता अध्ययन कार्य थालनी हुन सकेको छैन ।

२ फागुन ०७५ मा पानीजहाज कार्यालय स्थापना भने भयो । कानुनी तथा नीतिगत दस्ताबेजको मस्यौदा गर्ने काम बल्ल थालिएको छ ।

बजेट घोषणा ३
बजेटमा काठमाडौं–वीरगन्ज, बर्दिबास–सिमरा र रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको डिपिआर तयार गरी निर्माण सुरु गर्ने उल्लेख छ।

तर, पूर्वसम्भाव्यता अध्ययन मात्र भयो । कुनै पनि रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार हुन सकेन ।

बजेट घोषणा ४
सडक विभागका अनुसार आर्थिक वर्ष ०७७–७८ सम्ममा मध्यपहाडी र हुलाकी राजमार्ग सम्पन्न हुनेछ ।

काठमाडौं–निजगढ द्रुतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्गलगायत राष्ट्रिय राजमार्गलाई एक्सप्रेस हाइवेका रूपमा विकास गरिने उल्लेख थियो । घोषणाअनुसार पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिका लागि डिपिआर तयार गर्ने काम भइरहेको छ । नारायणगढ–बुटवल सडक विस्तार सुरु भएको छ ।

बजेट घोषणा ५
बजेटमा सरकार आफैँले निजगढ विमानस्थल निर्माण अघि बढाउने भनिए पनि मोडालिटीबारे टुंगो लागेको छैन ।

त्रिभुवन विमानस्थल सुधार कार्य सुरु भएको छ । पोखरा विमानस्थलअन्तर्गत धावनमार्ग निर्माण सम्पन्न भएको छ, टर्मिनल भवन धमाधम बनिरहेको छ । भैरहवामा गौतमबुद्ध विमानस्थलको धावनमार्ग बनिसकेको छ, टर्मिनल भवन पनि निर्माण भइरहेको छ।

बजेट घोषणा ६
सरकारले चालू आर्थिक वर्षको बजेटमा बुढीगण्डकी आयोजनाको मुआब्जा वितरण सकेर निर्माण अघि बढाउने लक्ष्य लिएको थियो ।

तर, आयोजनाले डुबाउने बजार क्षेत्रको मुआब्जा निर्धारण हुन सकेको छैन । उल्टै सरकारले १२ सय मेगावाटको आयोजनालाई ८ सय मेगावाटमा खुम्च्याउने प्रस्ताव अघि बढाएको छ।