✍️ शान्ता चाैधरी 

‘तिज असाध्यै भड्किलो बन्दै गयो है’– धेरैतिरबाट यस्तो टिप्पणी सुन्न पाइन्छ । वास्तवमै तिज भड्किलो र खर्चालु बन्दै गएको छ । तिज मात्र होइन, नेपालीका विभिन्न चाडपर्व भड्किलो र खर्चिलो बन्दै गइरहेको छ । हाम्रा चाडपर्व अमूल्य सम्पत्ति हुन्, संस्कृति हुन् । हाम्रा चाडपर्व विश्वमै उदाहरणीय छन् । तर, संस्कृतिमा विकृति मिसिँदै गएको र विकृति बढ्दै गएको तर्फ हाम्रो गम्भीर ध्यान जान जरुरी छ ।

नेपालको चाडपर्वको विशिष्टतालाई हामीले नयाँ ढंगले परिभाषित गर्न पनि जरुरी छ । चाडपर्वहरुको नेपालीकरण तथा साझाकरण गर्न अति आवश्यक छ । नेपालमा सयौं सयौं चाडपर्व छन् । नेपाल र नेपालीले मनाउने सबै चाडपर्वलाई साझा बनाउँदै लानुपर्छ । खुसीको कुरा के भने नेपाली समाजले चाडपर्वहरुलाई साझा बनाउँदै लगेको छ । एक जाति या क्षेत्रले मनाउने चाडलाई अर्काे जाति या क्षेत्रले पनि आत्मसात गर्दै लगेको छ । जुनसुकै जाति समुदायको चाडपर्वलाई पनि सम्मान दिने, सहभागी हुने नेपाली संस्कृति नै हो । यो संस्कृति अझै बलियो बनाउँदै लैजानुपर्छ ।

तीजलाई नेपालभर विभिन्न तरिकाले मनाइन्छ । पूर्वी नेपालमा तिज मनाउने तरिका र पश्चिम नेपालमा मनाउने तरिकामा केही भिन्नता छ । काठमाडौंमा तिज मनाउने तरिका केही फरक छ । नेवार समुदायले तिज मनाउने तरिका फरक छ, थारु समुदायले मनाउने तरिका फरक छ, गुरुङ, राई या थारुले मनाउने तरिका फरक छ । अर्थात्, तिज एक मनाउने तरिका अनेक । तिजको साझा विशेषता चाहिँ महिलाको साझा भावना नै हो । किन हो किन मलाई थाहा भएन, तिजले महिलाको पीरव्यथा, वेदना, चाहना र भावना व्यक्त गर्छ । महिलालाई एकै सूत्रमा बाँध्छ तिजले ।

तिजलाई हिन्दू चाड भनेर कैयन मिडियाले लेखेको देख्छु । यो चाड हिन्दू संस्कृतिलाई आधार बनाएर सुरु भएको होला तर यो हिन्दूको मात्र चाड होइन । हामीले हाम्रा चाडपर्वलाई धर्मको घेरामा राख्न हुँदैन । तिज नेपालीको चाड हो । सबै नेपाली हिन्दू होइनन्, सबै हिन्दू नेपाली छैनन् । नेपालको सनातन, पुरातन, प्राकृत धर्म मान्नेहरु एकअर्कासँग गाँसिएका छौं । नवआगन्तुक धर्महरुको कुरा बेग्लै हो, सदियौं देखि नेपाली भूमिमा धर्म र संस्कृति खास तरिकाले फस्टाएको छ । नेपालको धर्म र संस्कृति विशिष्ट प्रकारको छ । नवआगन्तुक धर्म संस्कृतिहरुले नेपाल र नेपालीको धार्मिक सांस्कृतिक विविधतालाई सम्पत्ति बन्न नदिएर विपत्ति बनाउन खोजेकै हुन् । नेपाल र नेपालीका चाडपर्व र संस्कृतिलाई हतियारका रुपमा विदेशीहरुले प्रयोग गर्न खोजेको पनि हामीले बुझेका छौं ।

विश्वमा तिज जस्तो महिला केन्द्रीत यति भव्य सांस्कृतिक पर्व शायद नेपालमा मात्र छ । नेपालमा सदियौंदेखि तिज मनाइँदै आएको छ । तिजले व्यापकता पाउँदै गएको छ । विदेशी धर्म र संस्कृति विस्तार गर्ने तर नेपाली धर्म र संस्कृति समाप्त पार्ने एजेण्डा बोकेका मानिस नेपालमा धेरै छन् । तिनले नेपाल र नेपालीले मनाउने चाडपर्वलाई फलानो जातिको मात्र हो, फलाना संस्कृति र धर्मको मात्र हो भन्दै विद्धेष फैलाउने गरेका छन् । वास्तवमा नेपाल र नेपालीले परम्परागत रुपमा मनाउने सबै चाडपर्व साझा हो । तिज पनि नेपालीको साझा हो । तिजलाई संकुचित गराउने, यसलाई आक्रमण गर्नेहरुबाट सजग हुँदै तिजलाई विश्वव्यापी मनाउने वातावरण बनाइनुपर्छ ।

तिजलाई कसरी विश्वव्यापी बनाउने ? यो महत्वपूर्ण प्रश्न हो । मार्च १० लाई अन्तराष्ट्रिय नारी दिवसका रुपमा मनाइन्छ । सो दिनलाई नारी दिवस मानिसले तोकेका हुन् । तर, नेपालमा तिज सदियौंदेखि मनाइँदै आएको छ । विभिन्न जाति, समुदाय हुँदै विकास हुँदै आएको चाडपर्व हो तिज । तिज व्यक्तिले बनाएको होइन, समुदाय र संस्कृतिले बनाएको हो । फेरि पनि भनौं, महिलामा मात्र केन्द्रीत यस्तो चाड विश्वमा विरलै होला । त्यसैले तिजका दिन विश्व नारी दिवस मनाउनु उपयुक्त हुन्छ । मेरो त भनाई के छ भने कुकुर तिहारलाई विश्व कुकुर दिवस, गाई तिहारलाई विश्व गाई दिवस, काग तिहारलाई विश्व काग दिवस मनाउनुपर्छ । तिहारमा मानवको पूजा हुन्छ, खासगरी नेवार समुदायले म्हः पूजा गर्छ । यसमा आफूले आफैलाई पूजा गरिन्छ । म्ह पूजालाई विश्व मानव दिवसका रुपमा मनाउनुपर्छ । तिहारका पाँच दिनलाई केन्द्रीत गरेर विश्व प्राणी दिवस मनाइनुपर्छ । यसमा नेपाल सरकारले नै संयुक्त राष्ट्रसंघमा लविङ गर्नु राम्रो हुन्छ ।

तिजलाई विश्व नारी दिवसका रुपमा विकास गर्न केही काम थालिहाल्नुपर्छ । जस्तो कि हरेक वर्ष तिजका दिन नेपालले विश्व नारी सम्मेलन आयोजना गर्नुपर्छ ।

तिज भड्किलो र खर्चिलो भएको प्रसंगको फेरि चर्चा गरौं । गरिबले तिज मात्र नभएर कुनै पनि चाडपर्व मनाउन सक्ने अवस्था छैन । नेपालमा धनी र गरिब बीचको खाडल बढ्दै गएको छ । यो खाडलले सबैभन्दा धेरै पीडा चाडपर्वको बेला दिन्छ । हामीले चाडपर्वलाई खर्चिलो र भड्किलो बनाउन कदापी हुँदैन । बरु, चाडपर्वलाई रचनात्मक र सार्थक बनाउँदै लानुपर्छ ।