- छविराज ढकाल
पथरी, २५ भदौ । मोरङको पथरीशनिश्चरेका नगर प्रमुख मोहन प्रसाद तुम्वापोले आगामी असोज -२२ गतेदेखि पथरीशनिश्चरे प्रिमियर लिग सिजन -३ अन्तर्गत क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको अक्सन कार्यक्रमको उद्घाटन गर्नुभएको छ।
शनिबार पथरीशनिश्चरे प्रिमियर लिग आयोजक कमिटीद्वारा सिन भिलेजमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्नुभएको हो। नगरको विकासमा खेलकुद क्षेत्रको महत्वपुर्ण भुमिका रहेको भन्नु हुंदै नगर प्रमुख तुम्वापोले नगरको शान र गौरव बढाउने क्रिकेट प्रिमियर लिगको सिजन-३ संचालन गर्न सक्दो सहयोग प्रदान गर्ने बताउनुभयो।

पथरीशनिश्चरे प्रिमियर लिग सिजन -३ क्रिकेट प्रतियोगिताको आयोजक कमिटीका अध्यक्ष अरूण राईको अध्यक्षतामा भएको कार्यक्रममा नगरका पुर्व नगरप्रमुख दिलिप कुमार राई, उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष धन कुमार तामाङ सहितले प्रतियोगिताको सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो। आगामी असोज -२२ देखि कार्तिक ६ गतेसम्म पथरीशनिश्चरेको नगर रङ्गशालामा लिग, प्लेअफ र फाईनल खेलहरू हुनेछन्।
नगर क्षेत्रमा रहेका नयाँ क्रिकेट खेलाडीहरूको क्षमता विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने उक्त प्रतियोगितामा ८ टिमले सहभागीता जनाउने भएका छन्। नगरभित्रका खेलाडीहरूले अक्सनको माध्यमबाट टिममा अनुबन्धित भएका छन्। । प्रत्येक टिमले १४ देखि १६ जनासम्म खेलाडीहरूलाई खरिद गर्नका लागि ४० हजारका दरले रकम उपलब्ध गराइएको प्रिमियर लिग सिजन -३ का सचिव राकेश राईले जानकारी दिनुभयो।
प्रतियोगिताको प्रथम टिमलाई १ लाख ११ हजार १११ रूपैयाँ तथा दोस्रो टिमलाई ५५ हजार ५५५ रूपैयाँ नगदसहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, प्रतियोगिताका अनुशासित टिम तथा उत्कृष्ट व्याटर, वलर, क्षेत्ररक्षक र उदयमान खेलाडीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ।प्रतियोगितामा नगरक्षेत्रभित्रका ८ वटा टिमले सहभागिता जनाउने उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। जसमा प्रत्येक टिमले सहभागिताका लागि १० हजारका दरले शुल्क बुझाउने छन् भने नगरपालिका कार्यालयसमक्ष खेलकुद क्षेत्रको विकासका लागि आवश्यक रकम माग गरिने प्रिमियर लिग सिजन -३ का अध्यक्ष अरूण राईले बताउनुभयो। सोहि अवसरमा अध्यक्ष राईले 'टाईटल स्पोन्सर'का लागि पनि नगरभित्रका विभिन्न संघ - संस्थाहरूलाई आव्हान गरेका छन्।

उक्त अवसरमा क्रिकेट प्रतियोगिताको लागि छुट्टै र उपयुक्त खेल मैदानको अभाव भएको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन्। उनीहरूले जांते मोडस्थित रहेको फुटबल मैदानमै क्रिकेट प्रतियोगिताको पनि आयोजना गर्नुपर्ने वाध्यता रहेको सुनाए। प्रतियोगितामा सात बाघ(वडा नं ७)ले अक्सनको माध्यमबाट अनिश लुईटेललाई ६ हजार , विदित राईलाई ५४०० , केविन राईलाई ५००० सहित १६ जनालाई रूपैयाँ दिने शर्तमा आफ्नो टिममा अनुबन्धित गरेको छ भने मंगलबारे लिजेन्ट ( वडा नं १०)ले राकेश दहाल (६ हजार), रोहन गहतराज (५हजार) , अभिषेक विक (५२००) सहितका खेलाडीलाई अनुवन्दन गरेको छ।

यसैगरी, हिसाब किताब ट्राईडेन्ट (वडा नं १)ले अन्जान राईलाई ६ हजार रुपैयाँ , पुरूषोत्तम न्यौपानेलाई ५ हजार रुपैयाँ सहित अन्य १६ खेलाडीहरूलाई टिममा समावेश गरेको छ भने विरेन्द्रनगर स्टिल टाइगर्स (वडा नं ३)ले आभाष पहीमलाई ६ हजार, पशुपति नाथ दहाललाई ५ हजार ६ सय रुपैयाँमा खेल अवधिभर टिममा आवद्ध रहनेछन्।
त्यस्तै,, बुद्ध युनाइटेड ( वडा नं २)ले सुदिप चौधरीलाई ८ हजार २ सय, राकेश राईलाई ६ हजार, राजु राईलाई ५ हजार रुपैयाँ सहित अन्य १६ जना खेलाडीहरू आफ्नो टिममा अनुबन्धित गरेको छ भने क्लासिक ११ हसन्दह ( वडा नं ५र ६)ले सुजन खत्रीलाई ६ हजार, सोलोमन राईलाई ५ हजार ८ सय रुपैयाँ सहित खेलाडीहरूको छनौट गरेको हो।
साथै, आइतवारे क्लब ( वडा नं ३) ले आफ्नो टिममा आदर्श खत्री(७४००/-), ड्रोनजंग थापा (६०००/-) , समित राई (५०००/-) लगायतका अन्य खेलाडीलाई आवद्ध गराएको छ भने रोयल्स किंग्सले हजार रुपैयाँमा दिपेश श्रेष्ठ र पवन राई, ५ हजारमा राज बस्नेत सहितका खेलाडीलाई टिममा आवद्ध गराएको छ ।




















