✍️आचार्य अमृत 

जतिखेर बहुदलको पुनर्स्थापना (२०४६/१२/२६) भयो, त्यतिखेर हामी सुन्थ्यौँ - प्रत्येक दलको विधान हुन्छ, विधानमा दलका निर्देशक सिद्धान्त र अन्य विभिन्न व्यवस्थाका साथै आचार-संहितालाई ज्यादै ठूलो महत्त्व दिएर त्यसलाई कडिकडाउका साथ पालन गर्ने/ गराउने भन्ने पद्धतिको उल्लेख गरिएको हुन्छ । दलको निर्णय सर्वोपरि रहने हुनाले यदि दलले चुनावमा लट्ठी नै उठाएछ भने पनि मतदाताले उसका पार्टीको चिह्नमा नै मतदान गर्नुपर्छ । सदनमा फ्लोर क्रस गर्न पाइँदैन, यदि कसैले फ्लोर क्रस गर्‍यो भने उसलाई प्रतिनिधिसभा वा राष्ट्रियसभा सदस्यबाट तुरुन्त निलम्बन गरी सदस्य पदबाट उसलाई हटाउनुपर्छ । उसको रिक्त रहेका ठाउँमा उपनिर्वाचन गरी पदपूर्ति गर्नुपर्छ आदि आदि इत्यादि ।

समयक्रममा यहाँ यी सब कुराहरू हात्तीका देखाउने दाँत मात्र हुन पुगे । प्रायश: सबै दलहरूले आआफ्ना विधानमा लेखिएका कुरालाई धोती लाइदिए । कुनै निष्ठा छैन, अनुशासन छैन, सिद्धान्त छैन, विधि छैन, प्रक्रिया छैन, पार्टी पद्धति छैन । जसलाई जे मन लाग्यो गरेको छ । नेतालाई जे सनक चढ्छ, त्यही गर्ने गरिएको छ, कुनै सिद्धान्त नमिल्ने दलसँग आफ्नो स्वार्थ, मात्र स्वार्थका लागि कहिले योसँग गठबन्धन/तालमेल गरेको छ, कहिले ऊसँग गरेको छ । कुनै लाज छैन, घिन छैन । यस्ता कुरामा कसैले केही बोल्यो भने 'राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु कोही पनि हुँदैन' भनेर मुखमा बुजो लाइदिएको छ । आफ्नै टाउकाको मोल तोक्नेसँग अँगालो मारेको छ । कुनै समयमा मुलुकको कुनै भूमिमा टेक्नै नदिने भनेर कुर्लिनेको पनि गाला चाट्न पुगेको छ । जता मल्खु, उतै ढल्कु भन्ने उखान आज नेपालमा खुब राम्ररी चरितार्थ हुन पुगेको छ । आफूले टिकट पाउँदा 'ओहो ! मेरो राम्रो पार्टी' भन्दै उफ्रेको छ, टिकट नपाउँदा त्यही मान्छे सिंहव्याघ्र भएर नेतृत्वमाथि खनिएको छ, पार्टी नै छोडेको छ । यस्तो पनि हुन्छ राजनीति ? यो ता राजनीतिका नाममा हुने महाकलङ्क हो । १६५ मा सबै अट्छन् ? ३३० मा सबै अट्छन् ? निश्चय नै अट्तैनन् । अनि छनोट नगरी भयो त ? राजनीति गर्नेहरूमा संयम र धैर्य छैन भने तिनले यस्ता काम गर्छन्, गरिरहन्छन् । त्यस्तालाई पनि नेता मानेर हिँड्ने म र मजस्ताहरूलाई धिक्कार छ, शतधिक्कार छ ।

फेरि उत्तिकै के पनि सम्झन बिर्सनु हुँदैन भने नेतृत्व गर्नेले नै अनेक आग्रह/पूर्वाग्रह राखेर जीवनभर त्यसै पार्टीमा आफ्नो रगत र पसिना बगाएकाहरूलाई पूर्ण रूपले बेवास्ता गरी हिजो घुम्दै डुल्दै पार्टीभित्र छिरेकाहरूलाई प्राथमिकतामा राख्छ भनेचाहिँ त्यहाँ विद्रोहको ज्वाला दन्कन्छ नै । त्यस ज्वालाले कता कता भस्म पार्छ, त्योचाहिँ सितिमिति आकलन गर्न सकिँदैन । विवेकी नेतृत्व भएका पार्टीहरूमा यस्तो उधुमचक्र मच्चिने भन्ने कुरा केही न्यून नै हुन्छ जसलाई सानोतिनो प्रयासले नै मत्थर पार्न सकिन्छ भन्ने मलाई लाग्छ ।