काठमाडाैं,२ पुष  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य अंकले घटाएको छ । गए मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर तीन रुपैयाँले घटाएको छ । 

यसअघि पेट्रोल प्रतिलिटर एक सय ८१ रुपैयाँ रहँदै आएकामा अब भने प्रतिलिटर एक सय ७८  रुपैयाँमा बिक्री हुनेछ । डिजल प्रतिलिटर एक सय ७८ रुपैयाँमा बिक्री भइरहेकामा अब भने एक सय ७५ रुपैयाँमा बिक्री हुनेछ । मट्टीतेल प्रतिलिटर एक सय ७८ रुपैयाँमा बिक्री हुँदै आएकामा अब भने एक सय ७५ रुपैयाँमा बिक्री वितरण हुने निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

निगमले सरकार र इण्डियन आयल कर्पोरेशनलाई नियमित भुक्तानीसहित १९ अर्ब  रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ । बाँकी बक्यौता तथा सरकारले उपलब्ध गराएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौतीपूर्ण रहेको जनाइएको छ । 

–रासस