एजेन्सी । ब्राजिललाई तीन पटक फिफा विश्वकपको उपाधि दिलाएका लिजेन्ड पेले संसारबाट बिदा भएका छन् । २३ अक्टुबर १९४० मा ब्राजिलको स्टेट अफ मिनिस गेरैसमा जन्मेका पेलेले सन् २०२२ डिसेम्बर २९ मा प्राण त्याग गरे ।

क्यान्सरबाट पीडित पेलेले उपचारका क्रममा अस्पतालमा अन्तिम सास फेरे । उनको निधनले खेल जगत शोकमा डुबेको छ । लियोनल मेस्सी, रोनाल्डो, नेयमार र एम्बाप्पे लगायत धेरै दिग्गज खेलाडीहरुले  उनलाई श्रद्धाञ्जली दिए ।

रोनाल्डोले यसरी दिए श्रद्धाञ्जली

क्रिस्टियानो रोनाल्डोले पेलेको इन्स्टाग्राममा फोटो सेयर गरेका छन् । पोस्टमा उनले लेखेका छन्, ‘अहिलेको फुटबल जगतले जुन पीडाबाट गुज्रिरहेको छ, त्यसलाई व्यक्त गर्नका लागि अनन्त फुटबलका राजा पेलेलाई बिदाइ गर्नु पर्याप्त हुनेछैन । उसले मेरो हेरचाह गर्ने तरिका हामीले साझा गरेको हरेक पलमा प्रतिदान गरिएको थियो। हामी अलग भए पनि त्यही रह्यो ।

'पेले अघि फुटबल खेल मात्रै थियो'

ब्राजिलका स्टार खेलाडी नेयमारले लेखेका छन्, ‘पेले अघि फुटबल एउटा खेल मात्र थियो । पेलेले सबै कुरा परिवर्तन गरेका छन् । उनले फुटबललाई कला र मनोरञ्जनमा परिणत गरे । उहाँले गरिबलाई आवाज दिनुभयो, अश्वेतहरूका लागि उदाहरण बने। विशेष गरी उनले ब्राजिललाई दृश्यता दिए। उहाँलाई धन्यवाद। उहाँ जानुभयो, तर उहाँको जादू अझै कायम छ।

'पेलेको विरासत कहिल्यै भुल्ने छैन'

फ्रान्सलाई लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुर्‍याएका केलियन एम्बाप्पेले पनि पेलेलाई श्रद्धाञ्जली अर्पण गरे। उनले पेलेसँगका केही तस्बिरहरू इन्स्टाग्राममा सेयर गरेका छन् । साथै पोस्टमा लेखेका छन्, 'फुटबलका राजाले हामीलाई छोडेर गए, तर उनको विरासतलाई कहिल्यै भुल्ने छैन।'

पेलेकी छोरीले मृत्युको खबर दिइन्

पेलेलाई २०२१ मा ट्युमर भएको पत्ता लागेको थियो र त्यसबेलादेखि उनी केमोथेरापी लिइरहेका थिए । पेलेको मृत्युपछि उनकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा यो जानकारी दिँदै लेखेकी छिन्, ‘हामी जे छौं, त्यो तपाईकै कारणले हो । हामी तपाईंलाई धेरै माया गर्छौं। आत्माले शान्ति पाओस्।

पेलेको नाममा केही अनौठो कीर्तिमान 

ब्राजिलले ४ वटा विश्वकप खेल्दा पेलेले ३ वटा विश्वकप आफ्नो देशलाई जिताउन सफल भए । उनले सन् १९५८ मा स्विडेनमा भएको विश्वकप , सन् १९६२ मा चिलीमा भएको विश्वकप र सन् १९७० मा मेक्सिकोमा भएको विश्वकपमा उपाधि जितेका थिए। पेले विश्व फुटबलको इतिहासमा सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीको भिडमा उच्च स्थानमा छन् ।

सन् १९५६ निकै सानो स्तरमा रहेको क्लब सान्टोसमा आबद्ध भएका उनले क्लबलाई विश्व जगतमा निकै चर्चित बनाउन महत्वपूर्ण भूमिका खेले । पहिलो विश्वकप केवल १७ वर्षमा जितेका उनलाई कालो मोतीका रुपमा समेत धेरैले चिन्ने गर्छन् ।

फुटबलको तेज गतिका खेलाडीसँगै मन्द मुस्कान र विनम्रताका कारण पेले विश्वका प्रशंसकहरूको मन–मस्तिष्कमा बस्न सफल छन् । आफ्नो २१ वर्षे खेल जीवनमा १ हजार ३ सय ६३ खेल खेलेका उनले १ हजार २ सय ८१ गोल गर्दै किर्तिमान पनि राखेका छन् ।

एउटै खेलाडीले ३ पटकसमम विश्वकप जिताएको रेकर्ड उनकै नाममा छ । उनले देशका लागि ९२ म्याचमा ७७ गोल गरेका छन्।