एमालेहरूलाई एमाले बनाउन सबभन्दा पहिलो र निर्णायक भूमिका नेकपा(एमाले) र पार्टी अध्यक्ष केपी ओलीले निर्वाह गर्नुपर्छ भन्नेमा दुइमत हुनसक्दैन । ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ स्वभावका, राजनीतिका सबै पत्ता कुशलतापूर्वक खेल्न सक्ने, ‘दुस्मन’लाई सहज ‘मित्र’ बनाउन सक्ने अपार क्षमताका धनी केपी शर्मा ओली यो अभियानमा पनि सफल हुनुहुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । पार्टी पद्धती र नेतृत्वको मातहतमा निःसर्त रहने सर्तमा सबैलाई समेट्नु ओलीको अर्को ऐतिहासिक सफलता हुनेछ । 

  • निर्मल भट्टराई

मङ्सिर चारको निर्वाचनसम्म ‘दुस्मन’को कित्तामा उभिएका नेकपा एमाले र माओवादी सरकार गठन गर्न एक ठाउँमा उभिएपछि फेरि वाम एकताको प्रशङ्ग उठ्न थालेको छ । यो नितान्त स्वभाविक हो किनभने देशलाई सही दिशामा अगाडि बढाउन यो भन्दा उपयुक्त बाटो अरू हुनसक्दैन । केही अपवादबाहेक नेपालका वामपन्थीहरूमा विचारमा कुनै तात्विक भिन्नता छैन ।

बलपूर्वक सत्ताकब्जा गर्ने रणनीति लिएर सशस्त्र सङ्घर्षमा गएको माओवादी कम्युनिष्टहरूले शान्तिपूर्ण निर्वाचनबाट श्रेष्ठता हासिल गरेर राज्यसत्ता सञ्चालन गर्नुपर्छ भन्ने जननेता मदन भण्डारीकै लाइनमा आएपछि देशका नब्बे प्रतिशत भन्दा बढी कम्युनिष्टहरूको विचारमा समानता देखापरेको हो । हाल सत्तामा सहभागी सबै कम्युनिष्ट पार्टीको लागि प्रत्यक्ष वा परोक्ष ढङ्गले मदन भण्दारीले तीन दशक अगाडि प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नै एकमात्र मार्गदर्शक सिद्धान्त बन्न पुगेको छ ।

तर परम्परागत केही मान्यता, कार्यशैली र इगोका कारण एमाले र माओवादी एकता अझै निकै टाढा छ । प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले व्यवहारमा माओवाद त्यागेपनि माओवादको ह्याङओभरबाट ऊ मुक्त हुनसकेको छैन । माओवादी केन्द्रको आन्तरिक लोकतान्त्रिकरण, नेतृत्व निर्माणशैली र संगठन निर्माणको तरिका एमालेको जस्तो बन्न सकेको छैन । त्यही कारणले विगतको एमाले–माओवादी एकता तासको घरजस्तो हुनपुग्यो ।

तसर्थ एमाले र माओवादीको एकता लामो वैचारिक छलफल, कार्यशैलीगत एकता र नेताहरूको बीच कमरेडली भावनाको निर्माण गरेपछि मात्र संभव छ । विगतको अनुभवले देखाएको छ, एमाले नेपाली श्रमजीवी जनताको वास्तविक प्रतिनिधि पार्टी हो भन्ने बोध माओवादी वृत्तले हृदयङ्गम नगरेसम्म एमाले–माओवादी एकता गर्नु हतार हुनेछ ।

दशकौंदेखि एउटै स्कुलिङ्बाट आएका, देश र जनताको लागि सँगै मर्न र मार्न तयार भएका, एकअर्काको दुःख–सुखमा सहभागी भएका, जनताको बहुदलीय जनवादी विचार निर्माण र कार्यान्वयनमा सहकार्य गरेका तर अहिले बिभिन्न कारणले फरक–फरक पार्टीमा सामेल भएका एमालेहरूको एकता अत्यन्त सहज र संभव छ ।

एमालेको पछिल्लो विखण्डनबाट निर्माण भएको नेकपा (एकृीकृत समाजवादी) एमाले विभाजन गरेर नयाँ पाटी निर्माणको कुनै औचित्य पुष्टि गर्न सकेको छैन । बरुअबकेगर्ने, कता जाने भन्ने भयानक विलखबन्दमा छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको शिखर व्यक्तित्व अगाडि एमाले पूर्वमहासचिव माधव नेपाल र पूर्वअध्यक्ष झलनाथ खनाल लिलिपुट सावित भएका छन । १५ वर्षसम्म एमालेमा एकछत्र राज गरेका माधव नेपाल बुढ्यौलीले हल न चल भएको सिंहले वरिपरिका झिंगा टिपे जसरी बाँच्नुपरेको छ ।

तत्कालीन मालेकालदेखि नै वैचारिक नेताको रूपमा परिचित झलनाथ खनाल जबजको वैचारिक दायरामै लुटुपुटु गरिरहेका छन् । उनीहरू ओलीको राजनैतिक परिपक्वताको बलमा वाम नेतृत्वमा बनेको वर्तमान सरकारलाई निःशर्त समर्थन गर्नुपर्नेमा आनाकानी र देउवाको असफलतामा पछुतो गरिरहेछन् । तर जे–जे गरेपनि उनीहरूको अन्तिम गन्तव्य एमाले नै हो, उनीहरूको फरक अस्तित्व रहनै सक्दैन ।

छर्लङ्गै देख्न सकिन्छ, माधव–झलनाथलाई एमालेमा फर्कन फेससेभिङ चाहिएको छ र उनीहरूको लाज छोप्ने टालो एमालेले दिएको दिन उनीहरू एमालेमा समाहित हुनेछन् । कुनैबेला एमालेका शक्तिमान नेता वामदेव गौतम त एमालेले ७० वर्षे उमेरहद आफ्नो विधानबाट हटाएर एमालेले आफूलाई पनि नेतृत्वमा स्पेस देवोस भनिरहेकै छन । पदका लागि हिजो पार्टीमा बबन्डर गर्ने उनी आज बालकोटको ग्रीन सिग्नल कुरेर बसेका छन् ।

आफ्ना आन्तरिक असन्तुष्टिलाई जातीय मुद्धा बनाएर एमालेबाट छुट्टिएका अशोक–राजेन्द्रहरू उपेन्द्रको ‘यादव राजनीति’बाट पीडित भएर बस्नुपरेको छ । पार्टीको बरियताको हिसाबले स्वतः जसपाको संसदीय दलको नेता हुनुपर्ने अशोक राईलाई त्यसबाट वन्चित गराइएको छ । एमालेको पूर्वउपाध्यक्ष राई जसपामा डेरावाल जस्तो राजनीतिक भूमिकामा सधैं रहन सक्दैनन् । उनीहरूका लागि पनि एमाले फर्कनु नै सबभन्दा सुरक्षित गन्तव्य हुनसक्छ । घुम्दैफिर्दै बाबुरामको पार्टीमा पुगेका पूर्वएमाले नेता महिन्द्र राययादवको हालत पनि त्यस्तै छ ।

एमालेहरू एक ठाउँमा उभिने वित्तिकै एमाले देशको सबभन्दा ठूलो पार्टी र अभेद्य राष्ट्रिय शक्तिको रूपमा स्थापित हुनेछ । यति भइसक्दा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा रहेको अर्को वामशक्तिको राजनीतिक र वैचारिक स्पेस समाप्त हुन्छ र त्यो शक्तिलाई नेपालको कम्युनिष्ट आन्दोलनको मूलधार एमालेसँग एकाकार हुनैपर्ने वाध्यता सिर्जना हुन्छ । त्यसकारण वाम एकताको पहिलो र सुल्टो कदम नै एमालेहरूको एकता हो ।

एमालेहरूलाई एमाले बनाउन सबभन्दा पहिलो र निर्णायक भूमिका नेकपा(एमाले) र पार्टी अध्यक्ष केपी ओलीले निर्वाह गर्नुपर्छ भन्नेमा दुइमत हुनसक्दैन । ‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ स्वभावका, राजनीतिका सबै पत्ता कुशलतापूर्वक खेल्न सक्ने, ‘दुस्मन’लाई सहज ‘मित्र’ बनाउन सक्ने अपार क्षमताका धनी केपी शर्मा ओली यो अभियानमा पनि सफल हुनुहुनेछ भन्ने अपेक्षा गर्न सकिन्छ । पार्टी पद्धती र नेतृत्वको मातहतमा निःसर्त रहने सर्तमा सबैलाई समेट्नु ओलीको अर्को ऐतिहासिक सफलता हुनेछ ।