तारा पराजुली 

हिउँदको गीत.....

हावाका भित्ताहरूमा

चिसो विज्ञापन टाँसेर

भर्खरै गएको छ एउटा बालक।

****

यसबेला ओसिएको छ जीवनको किताब

डायरीमा शीर्षक मात्र टिपेर

थन्क्याएको छ कविले कविता

घुम ओढेर बसेका असारका खेतालाजस्तै

हिउँ र तुसारोको घरभित्र छन् लेकमा गुराँसहरू

अटेरी भएर बसेको छ मधेसमा हुस्सु

लोसे पाराले आउँछ आउँदा

र बिस्तारै सुम्सुम्याउँदै

शरीरभरि टेकेर जान्छ

भुईँ कुहिरोले मलाई ।

****

निदाउरो छ दिन

चिर निन्द्राबाट जुरुक्क उठेको छ जाडो

गर्हुङ्ग छन् फूलका पत्रहरू

निश्चित अवधिका लागि

बसाइँ सर्दै छन् हिमाली घामहरू

पुरानो कन्तुर खोलेर झिक्दैछिन् हजुरआमा

पोहोर साल थन्क्याएका जाडाका ओखतीहरू ।

****

आफ्नै अनुहारको फोटोकपी जस्तै

खुम्चिएका छन् हजुरबाका कोट र गलबन्दी

खडेरीको बेँसी खेतजस्तै

चर्किएका छन् हत्केला पैलाला र कुर्कुचा ।

****

जीवनलाई सहजै सहने यी केटाकेटीहरू

अलिकति फुर्सद भयो कि

आँखा छलेर निस्किहाल्छन्

उत्ताउलो सिरेटोसँग जिस्कन।

****

हावाका आँगनतिर फर्किएका छन्

जीवनका झ्यालहरू

झनै कोलाहल छ बाहिर

यो बाक्लो उपस्थितिलाई के भनौँ ?

बजार कि सम्मेलन ?

गोष्टि कि सेमिनार ?

जहाँ न कसैलाई छुट छ

न आरक्षण ।

****

ठ्याक्कै यही सिजनमा

वर्षाैदेखि उस्तै रूप र

पराजित अनुहार लिएर

केही जित्नका लागि

न्यायको अँगेना वरिपरी

धर्ना दिइरहेछौँ हामी

तर कहिल्यै साटिेएन सपनाको रङ्ग

वर्षाैपछि यस्तो लाग्न थालेको छ

यसरी न्यायको आगो ताप्ने निहुँमा

दाउरा थप्दै छौँ कि,

आफ्नै अनाम आयु थप्दै छौँ हामी???