एजेन्सी,९ माघ । छिमेकमा रहेको मानिसको घरपालुवा कुकुरलाई कुकुर भनेपछि आक्रोशित व्यक्तिले एक जना वृद्धको हत्या गरेका छन् ।
जनवरी १९ बिहिबार भारतको तमिलनाडुको थाडिकोम्बु गाउँमा ड्यानियल र भिन्सेन्ट नामका व्यक्तिले ६५ वर्षीय रायप्पन नामका वृद्धको हत्या गरेका हुन् ।
ड्यानियल र भिन्सेन्ट नामका व्यक्तिले पालेको कुकुरको निहुँबाट घटना घटेको हो । ड्यानियल र भिन्सेन्टको छिमेकमा बस्थे मृतक रायप्पन जो भिन्सेन्ट र ड्यानियलको आफन्त पनि हुन् । राइप्पन छिमेकी ड्यानियल र भिन्सेन्टको घरपालुवा कुकुरले जहिलै बाटोमा हिँडेको देख्ने बित्तिक्कै झम्टने गर्ने गरेको हुँदा गुनासो राख्न गएका थिए ।
ड्यानियल र भिन्सेन्टले कुकुरको नाम डगी राखेका थिए तर रायप्पनले उनीहरूले राखेको नामबाट न बोलाई कुकुर भनेर बोलाएकोमा दुई पक्षबीच विवाद बढेको थियो ।
विवाद यति बढ्यो कि रायप्पनले कुकुरलाई मार्न लाठी सम्म मगाएपछि ड्यानियल र भिन्सेन्ट रिसाएर दुवैले रायप्पनमाथि आक्रमण गरेका थिए । यसै क्रममा आक्रोशित दुई पक्षबीच झडप भयो ड्यानियल र भिन्सेन्टले रायप्पनलाई कुटपिट गरे ।
कुटपिट पछि घाइते भएका रायप्पन घटनास्थलमै बेहोस भएर ढलेका थिए । रायप्पनलाई तुरन्तै उपचारका लागि नजिकैको अस्पतालमा लगिए पनि उनको मृत्यु भैसकेको चिकित्सकले जानकारी दिएका थिए ।
खबर पाएलगत्तै घटनास्थलमा पुगेको प्रहरीले मृतकको शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ । हत्याका अभियुक्तहरु फरार रहेको बताइएको छ । रायप्पनको परिवारका सदस्यले थाडीकोम्बु प्रहरी चौकीमा उजुरी गरेपछि हत्यामा संलग्न ड्यानियल र भिन्सेन्टको खोजीमा थाडिकोम्बु प्रहरी चौकीले छापा मारिरहेको छ ।




















