काठमाडौ । वर्षायामको सुरुवातसँगै ठाउँठाउँमा पहिरो जाने क्रम रोकिएको छैन । आज बिहान सडकमाथिबाट खसेको लेदोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सडकभन्दामाथिबाट बालुवा निकालेका कारण धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारबाट महेशदोभान बजारसम्मको एक किलोमिटर सडक लेदोले पुरिएपछि सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । स्थानिय सरकारले पैसाको चलखेलमा वाताबरणीय प्रभावको कुनै अनुमान नै नगरी खानी सञ्चालन गर्न दिएका कारण यस्तो भएको आरोप लगाइएको छ ।

प्रहरीका अनुसार लेदो खसेपछि गएरातिदेखि नै सवारी आवागमन प्रभावित भएको छ । दुवैतर्फ सवारीको लामो लाम देख्न सकिन्छ । कतिपय सवारी सडकमा खसेको लेदोमा समेत फसेको जानकारी दिइएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन गाउँपालिका र बालुवा व्यवसायीले डोजर परिचालन गरेर काम गरिरहेको प्रहरीले बताएको छ । राजमार्ग माथिबाट खनिएको सडक पनि समस्याका रुपमा खडा भएको स्थानीयको गुनासो छ । अव्यवस्थित रुपमा खनिएको सडकको लेदो सोझै सडकमा खस्दा यसअघि पनि सडक अवरुद्ध हुँदै आएको थियो ।