काठमाडौं,२४ माघ । नेपाल साफ यु-२० महिला च्याम्पियनसिप फुटबलकाे फाइनलमा पुगेकाे छ । बंगलादेशकाे ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा मंगलबार भएकाे खेलमा भारतलाई ३-१ गाेल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकाे हाे । 

नेपाललाई जिताउन अञ्जली चन्द, कप्तान प्रिति राई र अमिसा कार्कीले गाेल गरिन् । भारतकी अपुर्व नाजारीले १ गाेल गरिन् ।

पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै ३ गोल गर्‍यो । खेलको २१ औं मिनेटमा भारतकी अपुर्वले गोल गर्दै टाेलीलाई अग्रता दिलाएकी थिइन् ।

खेलकाे ४७औं मिनेटमा अञ्जलीले १ गाेल गर्दै खेल बराबरीमा पुर्‍याइन् । खेलकाे ६८औं मिनेटमा प्रितीले पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई २-१ काे अग्रता दिलाइन् । अमिसा कार्कीले खेलकाे ८९औं मिनेटमा नेपालका लागि १ गाेल थपिन ।

पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले हराएको थियो । सिंगल राउण्ड रोबिन लिगअनुसार खेलाइएको च्याम्पियनसिपका शीर्ष दुई टोलीबीच बिहीबार फाइनल खेल हुनेछ ।