काठमाडौं,२७ माघ । बार्सिलोनाका अध्यक्ष जोआन लार्पोटाले रोनाल्डिन्होका छोरा जोआओ मेन्डेस क्याटालन क्लबमा अनुबन्धित हुने पुष्टि गरेका छन् ।

बार्सिलोनाका पूर्वलेजेन्ड रोनाल्डिन्होले सन् २००३ देखि २००८ सम्म गरी पाँच वर्ष क्याटालन क्लबमा बिताएका थिए । यस अवधिमा उनले बार्सिलोनाबाट दुई स्पेनिस ला लिगा र एक च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

र, अहिले उनका १७ वर्षीय छोरा पनि रोनाल्डिन्होकै पदचार पछ्याउँदै बार्सिलोनासँग जोडिन लागेका हुन् । मेन्डेसले यसअघि ब्राजिलियन क्लब कोरिन्थियन्सबाट खेल्दै आएका थिए ।

“आफ्नो छोराको करियरलाई बार्सिलोनाबाट अघि बढाउने रोनाल्डिन्होको निर्णयप्रति हामी निकै खुसी छौँ,” बार्सिलोनाका अध्यक्ष लार्पोटाले भने, “उनी युवा छन् र हामीसँग प्रशिक्षण गरिरहेका छन् । तर, हामी उनीसँग सम्झौता गर्न चाहन्छौँ । त्यसमा अब केही कुराहरु बाँकी छ । तर, हामी मेन्डेससँग निकै खुसी छौँ ।”