काठमाडौं,५ फागुन । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत अहिले जारी नेपाल र स्कटल्याण्डबीचको खेलमा नेपाली स्पिनरहरु चम्केका छन् । सन्दीप लामिछानेले व्यक्तिगत तेस्रो विकेट लिएपछि स्कटल्याण्ड थप दवावमा परेको छ ।
सन्दीपले २२ रन बनाएर खेलिरहेका ब्रान्डन म्याकमुलनलाई कुशल मल्लको हातबाट क्याच गराएपछि स्कटल्यान्डले ११३ रनमै ६ विकेट गुमाएको छ ।स्पिनरलाई सहयोग गरिरहेको पीचमा स्कटिस ब्याट्सम्यानले खुलेर खेल्न सकिरहेका छैनन् । पार्टटाइम बलर कुशल भुर्तेलले पनि एक विकेट लिएका छन् । कुशल मल्लले स्कटल्याण्डका दुई ओपनरहरुलाई आउट गरेसँगै खेलमा नेपालले पकड बनाएको थियो ।
स्कटल्यान्डसँग नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा एउटा मात्र जितेको छ । सात वटा देश सहभागी लिगको शीर्ष पाँचमा पर्न सके नेपालको एकदिवसीय मान्यता जोगिनेछ, यदि शीर्ष पाँचमा पर्न नसकेमा नेपालले क्वालिफायर खेल्नुपर्नेछ । लिग २ को तालिकामा स्कटल्यान्ड ३३ खेलमा ४८ अङ्कका साथ शीर्ष स्थानमा छ । नामिबिया ३२ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ ।




















