• ✍️ सूर्य बस्याल,दिल्ली

भारतमा श्रमजीविकोपार्जनरत प्रवासी नेपालीहरूको सबैभन्दा ठूलो संगठन प्रवासी नेपाली संघ भारतको आयोजनामा आठौं अखिल भारत प्रवासी नेपाली सम्मेलन भरखरै अघिमात्र सम्पन्न भएको छ । यो मूलतः प्रवासी नेपाली संघ भारतको आठौँ केन्द्रीय सम्मेलन हो । १९–२१ फरवरी २०२३ सम्म भारतको वाणिज्य राजधानीको नाउँले विख्यात महाराष्ट्रको मुम्बईनजिकै शैक्षिक केन्द्रको रूपमा चिनिएको पुणे शहरमा सम्पन्न यो सम्मेलनले धेरै अर्थमा धेरैवटा विषयोपर सन्देश दिन सकेको छ ।

मूलतः तीन चरणमा सम्पन्न सम्मेलनका कार्यक्रमहरूलाई यसको अन्तरवस्तुका हिसावले यसरी लिन सकिन्छ ।

उद्घाटनसत्र

पुणे शहर निर्माताका रूपमा परिचय कमाउनुभएका सामाजिक व्यक्तित्व अण्णाभाव ठाकरेको नाउँमा प्रयोगमा आएको विशाल सभाकक्षालाई विवाहमण्डप प्रवेश गर्नुअघिको अवस्थामा दुलही श्रृंगारिए झैँ श्रृंगारिएको थियो । खचाखच भरिएको जनमानस र गगन छुने स्वरमा नारा जुलुस सहित हल प्रवेश गरेका देशभक्त प्रवासी नेपाली जनसागरलाई सारगर्भित सम्बोधन गर्नुहुँदै भिन्न–भिन्न आठवटा पानसमा दीप–प्रज्जवलन गरेर नेपालदेखि कार्यक्रमको लागि आइपुग्नुभएका अभानेस्ववियु निर्माणकालका संस्थापक अध्यक्ष, लुम्बिनी प्रदेश सरकारका संस्थापक मुख्यमन्त्री र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव कमरेड शंकर पोखरेलले सम्मेलनको विधिवत् समोद्घाटन गर्नुभएको थियो ।

आठौँ अखिल भारत प्रवासी नेपाली सम्मेलन आयोजक समितिका संयोजक लोकनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न यो सत्रको सञ्चालन महासचिव टिका पौडेलले गर्नुभएको थियो । प्रवासी नेपाली समुदायको हकाधिकारको पक्षमा वकालत गर्दागर्दै देशभक्तिपूर्ण आन्दोलनकालदेखि लोकतान्त्रिक आन्दोलनका विभिन्न जंक्शनहरूमा साहदत प्राप्त गर्नुहुने शहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण र राष्ट्रगानमार्फत राष्ट्रको सम्मान गरेलगत्तै संघका सहसंयोजक सिता अधिकारीको स्वागत मन्तव्य राख्नुभएको थियो ।

यसरी औपचारिकतामा प्रवेश गरेको सम्मेलनको यो ऐतिहासिक सत्रलाई नेकपा (एमाले) स्थायी कमिटी सदस्य डा. पुष्प कँडेल, केन्द्रीय सदस्य युवराज बास्कोटा, संघका इञ्चार्ज हरिप्रसाद घिमिरे, पूर्व इञ्चार्ज तिलबहादुर विश्वकर्मा, संघ निर्माणकालको जिउँदो इतिहासका रूपमा क्रियाशील व्यक्तित्व लक्ष्मण रायमाझी, एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्मनाथ अधिकारी, नेकपा (एमाले) सुदुर पश्चिम इञ्चार्ज दीपक सुनार, संघको दक्षिण भारत कार्यक्षेत्र निर्माणका अगुवा भवानीप्रसाद सुवेदी, अभानेस्ववियुका पूर्व नेता कोमल सुवेदी, वित्तीय क्षेत्रमा कार्यरत प्रभु बैंक भारत शाखाका प्रमुख मित्रप्रसाद घिमिरेलगायत भारतस्थित अन्य संघसंगठनका प्रतिनिधिहरू र प्रवासी नेपाली समुदायलाई माया मान्ने भारतीय बौद्विक व्यक्तित्वहरूले समेत सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । सम्मेलनको आन्तरिक कामको व्यवस्थापनअन्तर्गत समग्र गतिविधिको माइन्युट लेखन नेता रामप्रसाद पराजुली, छविलाल भट्टराई र सूर्य बस्यालले गर्नुभएको थियो ।

सांस्कृतिक कार्यसत्र

प्रवासी नेपाली संघ भारतको महाराष्ट्र र मध्य प्रदेश राज्य समिति मातहत सञ्चालित जनसांस्कृतिक परिवारद्वारा तयार गरिएका देशभक्तिपूर्ण झाँकी सहितका जनवादी गीत र नृत्यहरू प्रस्तुत भएका थिए । पहिचानमा आधारित विभिन्न जातजाति र तिनले प्रयोग गर्ने भेषभुषामा सजिएका कलाकार तमाम भाइबहिनीहरूको सांस्कृतिक प्रस्तुतिले सबैको मन जित्नु साथै कार्यक्रममा गजबको उत्साह थपेको थियो । पहिलो दिनको कार्यक्रम सांस्कृतिक साँझको रूपमा घण्टौँसम्म चलेको थियो ।

नेपाली रैथाने कला र साहित्यको क्षेत्रलाई बढावा दिने स्रष्टाहरूद्वारा बीचबीचमा प्रस्तुत भएका विविध विषयगत सांस्कृतिक सन्दर्भले उपस्थित सबैमाझ आफ्नो प्यारो संगठनको सम्मेलन मात्र होइन, नेपालीपन र नेपालीमन भएकाबीच हृदय बोक्न र यसलाई संगठित ढंगले जुरुक्क उठाउन सक्ने सम्मिलन समेत गराएको थियो । हिमाञ्चल प्रदेशदेखि केरलासम्म र शिलोङदेखि गुजरात राज्यसम्म बसोबास गर्नुहुने प्रवासी नेपाली समुदायको प्रतिनिधिलाई एउटै मालामा उन्ने र गुन्ने काम गर्नुका साथै वर्गीय माया साटासाट गर्नमा सांस्कृतिक कार्यक्रम एउटा पवित्र तीर्थस्थल जस्तो संगम बनेको थियो ।

बन्द प्रतिनिधिसत्र

सामान्यतः मुद्दामा आधारित कतिपय कम्युनिष्ट, बामपन्थी र लोकतान्त्रिक संघसंगठनका लागि तिनले आयोजना गरेको सम्मेलनको यो सत्र अत्यन्तै महत्त्वपूर्ण सत्र अर्थात् बन्द प्रतिनिधिसत्र हुने गर्दछ । हाम्रो सम्मेलनका प्रमुख अतिथि नेकपा (एमाले) का महासचिवद्वारा प्रस्तुत अर्थपूर्ण सुझाव र संघका इञ्चार्ज हरिप्रसाद घिमिरेको दिशानिर्देशमा व्यवस्थित र अनुशासित रूपमा अघि बढेको थियो । निवर्तमान कमिटीले अध्यक्षमण्डलको नाउँ शिफारिसस्वरुप प्रस्ताव गर्दै आफ्नो कार्यकाल सम्पन्न भएको जनाउ दिन्थ्यो, यसपटक यस्तो भएन । नयाँ कमिटी बनेसँगै पुरानो अर्थात् आयोजक कमिटी बिघठन हुने मान्यता विकास गरियो र यो प्रयोग आफैंमा निकै राम्रो पनि भयो ।

यो मान्यताका साथ महासचिव टीका पौडेलले लक्ष्मण रायमाझी, हरिप्रसाद घिमिरे, युवराज बास्कोटा, तिलबहादुर विश्वकर्मा र ईश्वरी भण्डारीको नाउँ अध्यक्षमण्डलका लागि प्रस्ताव गर्नुभयो । हलले करतल ध्वानीका साथ यो जिम्मेवारीलाई स्वीकार्दै कार्यारम्भ गर्ने अख्तियारी दियो । अध्यक्षमण्डलको आन्तरिक कार्य विभाजनअनुरुप लक्ष्मण रायमाझीले यसको अध्यक्षता गर्नुभयो भने युवराज बास्कोटाले सञ्चालन । यो कार्यकालको माइन्युट नेता रामप्रसाद पराजुली, मित्रप्रसाद घिमिरे र सुभाष बस्नेतले गर्नुभएको थियो ।

केही विलम्ब सहित आरम्भ भएको दोस्रो दिनको यो दोस्रो महत्त्वपूर्ण सत्रमा महासचिव टीका पौडेलले तयार पार्नुभएको संगठनात्मक प्रतिवेदन, रविलाल घिमिरेले तयार गर्नुभएको आर्थिक प्रतिवेदन र नारायणप्रसाद हुमागाइँले विधान मस्यौदा समितिको तर्फबाटद्वारा प्रस्तुत नीति तथा कार्यक्रम मस्यौदा जस्ता महत्त्वपूर्ण दस्तावेज प्रस्तुत गर्नुभयो ।

सम्मेलनमा सहभागी १२ वटा राज्य र संयुक्त राज्यको तर्फबाट प्रस्तुत तीनवटै प्रतिवेदनमाथि रायसुझावहरू मागिएको थियो । अपेक्षा गरेअनुसारको तयारीका साथ विभिन्न राज्यका इञ्चार्जद्वारा सहभागी सबैको भावना झल्कने विषयवस्तुलाई समेटेर कतिपय सन्दर्भमा टिप्पणीस्वरुप सामयिक मूल्यमान्यता निर्देशित रायसुझाव दिनुभयो ।

आन्दोलनलाई दस्तावेजीकरण गर्ने उद्देश्यका साथ महासचिव टीका पौडेलले तयार पार्नुभएको प्रतिवेदनले आवश्यक सामाग्रीको माग गरेको थियो । प्रस्तुति अगावै छुट्न विषयवस्तु मात्र नभएर उपयुक्त रायसुझावको अपेक्षा गरिएको थियो । यद्यपि, यो प्रस्तुति केही केही पक्षहरू चासो र जिज्ञासामा आधारित थियो, अनुत्तरित थियो । घुमाइफिराइँ थियो । समयक्रममा यसमाथि निकै राम्रोसँग सवालजवाफ भयो । सातौँ अखिल भारत सम्मेलनद्वारा निर्वाचित महासचिव युवराज बास्कोटा, संयोजक लोकनाथ भण्डारी, इञ्चार्ज हरिप्रसाद घिमिरे, महासचिव टीका पौडेल र आर्थिक प्रमुख रविलाल घिमिरेको प्रस्टोक्तिपछि प्रस्तुत सबै प्रतिवेदनलाई तालिको गडगडाहटमा पास गर्ने र हलसमक्ष दस्तावेज अनुमोदन गर्ने काम भएको थियो ।

नेतृत्व निर्वाचनसत्र

भरखरै अघिमात्र सम्मेलनको बन्द प्रतिनिधिसत्रले पास गरेको विधानको व्यवस्थाअनुरुप ७५ सदस्यीय केन्द्रीय कमिटी रहन सक्ने कुरालाई हलसमक्ष सञ्चालक युवराज बास्कोटाले सुझाउनुभयो । प्रवासी नेपाली आन्दोलनले आफ्नो भौगोलिक कार्यक्षेत्र र विषयगत कामको क्षेत्रलाई समेत समेट्नुपर्ने अनिवार्यता निर्देशित भएर राज्य वा संयुक्त राज्यले पाउने कोटा निर्धारण गरियो । तदानुरुपले राज्य वा संयुक्त राज्य कमिटीले पाएको अर्थात् हलसमक्ष पठाएको नाममा आधारित केन्द्रीय कमिटी बनायो ।

यो केन्द्रीय कमिटीको पहिलो बैठकले पश्चिम बंगालबाट प्रतिनिधित्व गर्नुहुने नारायणप्रसाद हुमागाइँको अध्यक्षतामा हरियाणाबाट प्रतिनिधित्व गर्नुहुने सिता अधिकारी उपाध्यक्ष, महाराष्ट्रबाट प्रतिनिधित्व गर्नुहुने डम्बरबहादुर रावल सचिव, महाराष्ट्रबाटै प्रतिनिधित्व गर्नुहुने गिरिराज बेलबासे उपसचिव र चेन्नईबाट प्रतिनिधित्व गर्नुहुने कृष्णभक्त पोखरेल उपसचिव रहने गरी पदाधिकारीको चयन गर्दै संघको अन्तरसंगठनात्मक जीवनलाई व्यवस्थापन गर्ने काम भयो ।

सम्मेलनले महासचिव रहने वैधानिक व्यवस्थालाई महासचिवीय अधिकारसम्पन्न सचिव रहने र केन्द्रीय समिति मातहतका सबै राज्य वा संयुक्त राज्य समितिका अध्यक्षहरू पदेन केन्द्रीय सदस्य हुने व्यवस्था यसपटक गरेको छ । ७५ सदस्यीय सल्लाहकार परिषद् र यो सम्मेलनमा सहभागी जनप्रतिनिधि अर्को सम्मेलन सम्पन्न नहुञ्जेलसम्मका लागि स्वतः प्रतिनिधि परिषद् रहने नयाँ संरचनागत व्यवस्था समेत यो सम्मेलनले गरेको छ ।

उपलब्धी र शिक्षा 

अन्तरसंगठनात्मक जीवन व्यवस्थापनअन्तर्गत अवलम्ब गरिने प्रजातान्त्रिक मूल्यमान्यता निर्देशित यो सम्मेलनले मुख्यतः तीनवटा काम गरेको छ ।

१) संघको आन्तरिक जीवनमा यसको सांगठानिक व्यवस्थापन, पारदर्शी आर्थिक रखरखाव, सांस्कृतिक विचलनविरुद्ध खबरदारी र नेतादेखि कार्यकर्तासम्मको चारीत्रिक गतिविधि निर्धारणको सुक्ष्म समिक्षा गरेको छ ।

२) प्रवासी नेपाली आन्दोलनको ऐतिहासिक पक्षको संरक्षण र अगाडिको लागि प्रवासी नेपाली आन्दोलनको मार्गचित्र कोरेको छ, सुस्पष्ट दिशानिर्देश गरेको छ र बैचारिक मार्ग प्रशस्त गर्ने काम गरेको छ ।

३) परस्पर अस्तित्वको सम्मानको पक्षलाई अक्षुण्य राख्न राय सुझाउँदै अन्तरपार्टी संघर्षको नाउँमा तेजोबध गर्ने कुरालाई निरुत्साहित तुल्याएको छ भने आन्दोलन निर्माणकालमा योगदान गर्नुहुने पुरानो नेतृत्वको ससम्मान बिदाइ, नयाँ नेतृत्वको चुनाव र संगठन सञ्चालनका आधारभूत मापदण्डहरू तय गरेको छ ।

सन् २०१२ मा मध्यप्रदेशको भोपालमा सम्पन्न सातौँ अखिल भारत प्रवासी नेपाली सम्मेलनद्वारा निर्वाचित केन्द्रीय समिति र यसका नेता लोकनाथ भण्डारी प्रायशः चुनौतिको भूमरीमा पिल्सिरहनुभयो । सम्बद्ध राजनीतिक पार्टीभित्रको दुई लाइनको संघर्षका नाउँमा नेतृत्व र नेतृत्वकारी शक्ति छिन्नभिन्न भयो । विभाजित मानसिकताका साथ सम्पन्न चुनाव र चुनावपछिको नेतृत्व व्यवस्थापन र परस्पर समान अस्तित्व आधारित सहकार्य निकै चुनौतिपूर्ण थियो । यसको उत्कर्षस्वरुप विकसित एउटा अवस्थालाई तत्कालीन महासचिव युवराज बास्कोटाले पराकाष्टाको रूपमा सहनुपर्ने अवस्था आइलाग्यो ।

यी कतिपय असजिला क्षणलाई जनतन पार गरेर पाइला अघि मात्र बढेका थिए, केन्द्रीय नेतृत्वमा रहनुभएका एक तिहाइभन्दा बढी नेताहरू बिदा भएर स्वदेश फिर्ता हुनुभयो । देशभित्र हुने नेकपा (एमाले) को एकता र विभाजनले प्रवासमा प्रत्यक्ष प्रभाव पारिरह्यो । यो सबै प्रतिकूल समयको गतिलाई चिरेर सम्मेलनसम्म आइपुग्दा तत्कालीन नेता लोकनाथ भण्डारीको नेतृत्वले सुझबुझपूर्ण मात्र होइन, समग्रतामा आन्दोलनको संरक्षण र सम्वद्र्धनमा केन्द्रीत रह्यो ।

सम्मेलन समापनसँगै यो सम्मेलनको मञ्चबाट ठूलो संख्यामा नेतृत्वले बिदा लियो । निवर्तमान कमिटीकै अध्यक्ष लोकनाथ भण्डारी, महासचिव टीका पौडेल, उपाध्यक्ष रामप्रसाद भट्टराई, केन्द्रीय सचिवालय सदस्य दुर्गादत्त पौडेल, नेतृ हेमा भट्टराईं र लक्ष्मी सापकोटा पौडेल, केन्द्रीय सदस्य टेकनारायण पौडेल, ईश्वरी भण्डारी, ऋषिराम शर्मालगायतले बिदा लिनुभयो ।

केही उद्घोष

भारतस्थित प्रवासी नेपाली आन्दोलन जेठो र पुरानो हुनुको नाताले पनि भारतबाहिरको भूमि र भूमिकालाई आकर्षित गर्न जिम्मेवारी बहन गर्ने विषयमा सम्मेलनको गम्भीर ध्यान पुगेको छ ।

आफ्नो स्थापनाकालदेखि नै नेपाल–भारत मैत्रीपूर्ण सम्बन्धका व्यवहारिक अपरिहार्यताभित्र समानता आवश्यक छ । त्यो समानताको परिभाषा दुई देशको भूगोल र जनसंख्याको आधारमा गरिनु पर्छ । साथै सन् १९५० को सन्धी यथावत् रहेसम्म त्यसले निर्धारित गरेका अधिकारको उपभोग प्रवासी नेपालीले अनिवार्य पाउनु पर्दछ भन्ने स्पष्ट मान्यता सम्मेलनले राखेको छ ।

दृष्टिकोण विकास 

यतिबेला भारत भूमि आधारित प्रवासमा तीनखाले नेपाली छन् ।

पहिलो– सन् १८१६ को सुगौली सन्धीले भू–भाग निर्धारण सहित भारतीय बनेका नेपाली परस्पर भाषाभुषा र संस्कृतिका आदिका कारणले नेपाली समान भारतीय नागरिक रहेका छन् । उनीहरू हरेक कुराले भारतीय नागरिक हुन् ।  त्यसैले कहिल्यै पनि उनीहरू सांस्कृतिक पहिचान, शारीरिक बनावट र भाषाकै आधारमा अपमानित हुनुहुँदैन । भारतीय संविधानको आठौँ अनुच्छेदमा उल्लेख गरिएको नेपाली भाषाको मान्यताअनुसार शहरी वा दुरदराजका क्षेत्रमा पनि ऐच्छिकहरूले नेपाली भाषाको पठनपाठनको सुविधा उपलब्ध हुनुपर्ने मान्यता संघले लिएको छ ।

दोस्रो– यो श्रेणीमा ठूलो संख्यामा प्रवासी नेपाली र तिनका छोराछोरीहरू छन्, जुन दशकौंदेखि भारतमै रहँदैबस्दै आएका छन् । यहिँ घरजम जोडेका छन्, यहिँ जन्मे, पढे, बढे र जागिरे वा व्यवसायिक बनेका छन् । यस्तो समुदायको एकल राष्ट्रिय पहिचान र मातृभूमिप्रतिको निष्ठाको संरक्षण हुने गरि उनीहरूको सम्मानपूर्वक दुई देशमै रहन र बस्न सक्ने व्यवस्थाको ग्यारेन्टी गर्न नीतिगत व्यवस्थाको लागि सरकारीस्तरबाट नै पहल गर्नुपर्ने हुन्छ ।

तेस्रो– यो श्रेणीमा प्रशस्तै प्रवासी नेपालीहरू छन्, जसको मूल थलो वा बाबुबाजेको घर नेपालमै छ । यहाँ विभिन्न कार्यमा संलग्न छन् । अध्ययन, उपचार आदिको लागि भारत प्रवासमा सन् १९५० को शान्ति तथा मैत्री सन्धीले निर्दिष्ट गरेको अधिकार प्रयोग गरेर रहने बस्ने गरेका छन् । उनीहरूले नेपाली पहिचानकै आधारमा सबैखाले आधारभूत सुविधा पाउनुपर्ने र उनीहरूले आर्जन गरेको आर्थिक सम्पत्ति सहज सुविधायुक्त तरिकाले लैजान ल्याउन पाउनुपर्ने, कार्यक्षेत्रमा उनीहरूको हकहित र अधिकारको ग्यारेन्टी हुनुपर्ने माग राख्ने र यसै दृष्टिकोणमा अघि बढ्ने गर्दछन् । यसो गरिरहँदा दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई अझ विकसित गर्दै नेपाललाई पर्यटन हबको रूपमा पहिचान गराउन पहल गर्ने निर्णय समेत सम्मेलनले गरेको छ ।

एकता र संघर्ष

प्रवासी नेपाली समस्या निराकरणमा हामी सबै दिदीबहिनी र दाजुभाइ !

आन्दोलन गरौँ सबै प्रवासी नेपाली मिलिजुलि, एउटै साझा मञ्च बनाइ !!

यो मूल मन्त्रमा आधारित रहेर नेपाली समाजको उन्नति–प्रगति, नेपाली भाषा, कला, साहित्य र संस्कृतिको संबर्धन, प्रवर्धन, सम्मान सुरक्षा र सहभागिताको लागि आन्दोलन गर्ने र पूंजी, प्रविधि, ज्ञान, सिपयुक्त सभ्य नेपाली समाज निर्माण गर्दै समृद्ध नेपाल : सुखी नेपाली निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्न सबै मिलेर साझा सवालहरूमा भारत प्रवासमा रहेका सबै नेपाली संघसंस्था र बौद्धिक व्यक्तित्व, भारतीय जनता र यहाँका सरकार तथा भारतीय बौद्विक व्यक्तित्वहरूसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ ।

साथसाथै, कुनै न कुनै खालको पूंजी, प्रविधि, ज्ञान, सिपयुक्त अतिरिक्त योग्यता र दक्षता लिएर देशभित्र जान र स्वदेशमै आत्मनिर्भर हुने गरि फर्किन आमरूपमा सबैखाले प्रवासी नेपालीहरूलाई आह्वान समेत गर्ने सन्देश सम्मेलनबाट प्रवाह भएको छ ।

संगठन सञ्चालनको विधि

पहिलोपटक यस विषयमा सम्मेलन गहिरिएर पस्यो । गहिरिएरै छलफल र बहस भयो । नियन्त्रण र नियमनमध्ये नियमनको विधि सम्मेलनले रोझेको छ । अधिकार लिनेहरूले दायित्वबाट एक इञ्च पनि तलमाथि हुन नसक्ने गरि नै वैधानिक नियमन गरेको छ । प्रवासी नेपाली संघ भारतका संगठकले संगठनमा मात्र होइन, समाज र परिवारमा समेत द्वन्द्ववादको आधारभूत सिद्धान्तमा टेकेर आफूलाई प्रजातान्त्रिक अभ्यासद्वारा उन्नत र अरुभन्दा श्रेष्ठ नागरिक भएको प्रमाण हमेशा समाजमा दिइरहनुपर्ने छ भन्ने विधि तय गरेको छ ।

सांगठानिक संरचना

सम्मेलनले अध्यक्ष संघको नेता हुने गरि अधिकार विनियोजन सहित पाँच सदस्यीय कार्यकारी पदको व्यवस्था गरेको छ । जसमा क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव र उपसचिव रहने व्यवस्था गरेको छ । यसको नेतृत्वसम्बन्धी व्यवस्थान माथि नै उल्लेख छ । राज्य वा संयुक्त राज्यमा पनि पदाधिकारीको चयन र व्यवस्थापन तदानुसार हुने समितिको संरचनागत व्यवस्था सम्मेलनले गरेको छ ।

सम्मेलनले केन्द्रीय समिति ७५ सदस्यीय रहने, यसको बराबर संख्यामा सल्लाहकार परिषद् रहने र सम्मेलनका सबै आयोजक, प्रतिनिधि सम्मिलित ३३४  सदस्यीय केन्द्रीय प्रतिनिधि परिषद् रहने कुराको गठन गरेको छ । अब उपरान्त चार संरचना कायम रहने छन् । जसमा क्रमशः केन्द्रीय समिति, राज्य समिति, नगर समिति र प्रारम्भिक समिति कार्यकारी समिति रहने छन् भने यसपटक सल्लाहकार परिषद्, प्रतिनिधि परिषद् र विभागहरूले एउटा निकायको रूपमा काम गर्ने गरि नयाँ प्रणाली विकसित गरिएको छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने संघको सबै सदस्यहरू एक व्यक्ति : एकपद : एक जिम्मेवारीको रूपमा अघि बढ्न सम्मेलनले मार्गदर्शन गरेको छ । यस्तै विविध विषयगत र विधागत निर्णयहरू लिँदै दिशानिर्देश सहित अत्यन्तै सौहार्दपूर्ण घटनाको रूपमा आठौँ अखिल भारत प्रवासी नेपाली सम्मेलन सम्पन्न भएको छ र यसले नयाँ–पुराना, हिमाल–पहाड–तराइँ आधारित सहभागितामूलक नेतृत्व निर्माण गरेको छ ।

निर्वाचित केन्द्रीय कमिटी एउटा सदस्यका हैसियतले आठौँ केन्द्रीय कमिटीको गहकिलो कार्यकालको सफलताको शुभेच्छा सहित...

श्रमबजारको खोजिमा स्वदेश जिल्ला पाल्पाबाट भारतको राजधानी दिल्ली पुग्नुभएका लेखक बस्याल प्रवासी नेपाली आन्दोलनको बैचारिक नेता र हालै केन्द्रीय कमिटीमा निर्वाचित सदस्य हुनुहुन्छ ।