पथरी,१८ फागुन । डाक्टरको चरम लापरवाहीका कारण उपचारको क्रममा लोकगायक गौरव दर्पणकी अढाई वर्षिया छोरीको निधन भएको भन्दै पथरी शनिश्चरेवासीहरूले विरोध प्रदर्शन गरेका छन ।
आज मोरङको पथरी शनिश्चरे . १ स्थित जनआन्दोलन चोकमा गायक दर्पणकी छोरी प्रशंसा गौतमको न्यायका लागि विरोध प्रदर्शन गरिएको हो ।
विरोध सभामा प्रशंसाको मृत्यु चिकित्सकको चरम लापरवाहीको कारण भएको र काठमाडौं रानीपाेखरीमा रहेको हिमालय अस्पतालका डा.जयदेव यादवलाई सरकारले चाँडो भन्दा चाँडो कडा भन्दा कडा कारवाही होस् भन्दै पथरी शनिश्चरेवासीहरूले जोडदार माग गरेका थिए ।
यो पनि पढ्नुहोस - डाक्टरको लापरवाहीका कारण देखाउदै आफ्नी छोरी गुमाएका गायक गौरभको भावुक विज्ञप्ति
पूर्वी रमाईलो" बोलको गीत गाएर लोकप्रियता कमाएका लोकप्रिय गायक दर्पणकी प्रशंसा गौतमलाई न्याय दे, डा.जयदेव यादवलाई कारवाही गर र हजारौं प्रशंसाहरुको रक्षा गर, हिमालय अस्पताल मुर्दावाद, जयदेव यादवले आफ्नो गल्ती स्वीकार गर, नेपाल चिकित्सक संघमा को को बस्छन् ?मान्छे छन् कि पशु छन्? जस्ता नाराहरु सहित लेखिएको प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।
विरोध सभामा पथरीशनिश्चरे नगरकी पूर्व मेयर यमुना विष्ट वास्तोला, पथरी जेसीजका अध्यक्ष सुवर्ण के.सी, कला साहित्य प्रवर्धदन समितिका अध्यक्ष अमीर राई,दाह्री ग्याङका अध्यक्ष अमर महरा,पूर्व जनप्रतिनिधि पर्शुराम न्यौपाने, लगायतले राज्यको तर्फबाट पीडित र पीडितको परिवारलाई अविलम्ब न्याय दिनको लागि माग गर्दै नावालिका प्रशंसाको उपचारमा संलग्न चिकित्सकलाई तत्काल कारवाही गर्न आग्रह गरेका थिए।
उक्त विरोध सभामा सयौंको संख्यामा नगरबासीको उपस्थिति रहेको थियो । लोकगायक दर्पणकी छोरी प्रशंसा गौतमको गत माघ २६ गते उपचारको क्रममा निधन भएको थियो ।





















