पथरी,६ चैत । मोरङको पथरीशनिश्चरे नगरपालिका  ७  स्थित चुम्लुङ चोकमा  गौतम बुद्धकी ममतामयी आमा मायादेवी पार्कको शिलान्यास गरिएको छ।

 सोमबार नगरप्रमुख मोहन प्रसाद तुम्वापो, प्रदेश सांसद विद्या चाम्लिङ राई, लामा गुरु, संविधान सभा सभासद चण्डी प्रसाद राई र पार्क संचालक समितिका अध्यक्ष कृष्ण कुमारी राईले संयुक्त रूपमा शिला राखेर मुलगेटको शिलान्यास गरेका हुन्।

प्रमुख अतिथि समेत रहेकी प्रदेश सांसद विद्या चाम्लिङ राईले नगरपालिका, प्रदेश र संघीय सरकारको तर्फबाट बहुवर्षीय योजना तर्जुमा गरेर यो पार्क मनममाेहक, आकर्षक र उदाहरणीय बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको सुझाव दिँदै आफुले सक्दो सहयोग पुर्याउने बताइन। सोहि अवसरमा विशिष्ट अतिथि पथरीशनिश्चरेका  नगरप्रमुख मोहन प्रसाद तुम्वापोले सबै पक्षको सकरात्मक सोच र सहयोग गर्न आग्रह गर्दै  पर्यापर्यटक महत्व बोकेको सो योजनालाई सफल तुल्याउन आवश्यक  रहेको बताए।

उनले देशका विभिन्न ठाउँमा छरिएका धार्मीक तथा पर्यटकीय स्थलहरूको भ्रमण गरेको दृष्टान्त प्रस्तुत गर्दै यो मायादेवी पार्कको निर्माण पछि  पर्यटकहरू भित्र्याउन रमणीय स्थल बन्ने कुरामा विश्वास्त रहेको उल्लेख गरे।

विश्वशान्तिका दुत गौतम बुद्धकी ममतामयी आमा मायादेवीको स्मृतिमा धार्मिक तथा स्थानीय पर्यटन प्रवर्द्धन गर्दै स्थानीयहरूको जीविकोपार्जनमा टेवा पुर्याउने  उद्देश्यले मायादेवी पार्क निर्माण गरिने भएको हो । गत आर्थिक वर्ष २०७८/२०७९ को विनियोजन भएको २५ लाख रुपैयाँ बराबरको बजेटबाट पार्क निर्माण गरिदैछ।

११ जना लामा गुरूहरुले मन्त्रोच्चारण गर्दै बौद्ध परस्परा अनुसार धार्मिक संस्कार गरि  राजनीतिक व्यक्तित्वहरूबाट पार्कको मुल गेटको शिलान्यास गरिएको हो। 

 अघिल्लो प्रदेश सरकार अन्तर्गत पर्यटन,उद्योग तथा वाणिज्य मन्त्रालयबाट सो क्षेत्रमा पार्क निर्माणको लागि  आर्थिक वर्ष -२०७८/२०७९ मा २५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो  ।  सो रकम आर्थिक वर्ष २०७९/०८० मा निवर्तमान मुख्य मन्त्री राजेन्द्र कुमार राईको नेतृत्वको सरकारको पालोमा सो रकम उपलब्ध भएको र स्थानीय बासिन्दाहरूको ४ लाख बराबरको श्रमदान सहित कूल २८ लाख रुपैयाँको बजेटले उक्त पार्क निर्माण सम्पन्न गरिने संचालक समितिका सचिव जोन लिम्बुले जनाएका छन्।

पार्क निर्माणको लागि पथरीशनिश्चरे -७ को मंगलबारे डाँडा स्थित पथरी खोला आसपासमा वर्षौंदेखि भोगचलन गर्दै आएको  ऐलानी जग्गा  ८ घर परिवारले मिलेर कूल १८ कठ्ठा क्षेत्रफलको जग्गा नि:शुल्क प्रदान गरेका हुन्। 

नि:शुल्क अनुदान सहयोग गर्नेहरूमा क्रमशः विष्णु कुमारी राई (५) ,निर बहादुर विक (५ कठ्ठा), मन माया तामाङ (२.१० धुर),गंगा माया तामाङ (२ कठ्ठा), जग माया राई (१कठ्ठा) ,श्रीमाया लिम्बु (१ कठ्ठा), धनमाया लिम्बु (१) र छविलाल लिम्बु (१० धुर ) रहेका थिए । 

पार्कको हाताभित्र  मायादेवीको शालिक सहितको प्रवेशद्वार, घेराबारा,  बाल बालिकाहरूको लागि मनोरञ्जनात्मक खेलौनाका स्थलहरू, आकर्षक बगैंचा आदि पुर्वाधारहरु निर्माण गरिने योजना रहेको पार्क संचालक समितिका अध्यक्ष कृष्ण कुमारी विश्वकर्माले जानकारी दिइन्।