विराटनगर,७ फागुन । राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशी र दीपेश कँडेल सम्मानित भएका छन् । 

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र अन्डर १९  राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार नगदसहित सम्मान गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गरे । 

दुवै खेलाडी विराटनगरका हुन् ।  दीपेशले युएईको यू–१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई अण्डर १९ विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका थिए । 

ललितले विश्वकप लिग २ सृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।  महासंघले ललितका बुबा–आमालाई पनि सम्मान गरेको छ । महासंघले नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहलाई पनि सम्मान गरेको छ । 

दुई खेलाडीलाई विराटनगर महानगरपालिका र कोशी प्रदेश सरकारले पनि सम्मान गर्ने निर्णय गरेको छ । राजवंशी र कँडेललाई प्रदेश सरकारले जनही १ लाख ११ हजार र विराटनगर महानगरपालिकाले  जनही एक लाख एक हजारसहित सम्मान गर्नेछ ।