काठमाडौं । आगामी मे ३० मा भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको पदको शपथ लिँदैछन् । गैर काँग्रेसका तर्फबाट पहिलो पटक लगातार दोस्रो पटक बहुमतको सरकार बनाउने तयारीमा रहेका निवर्तमान प्रधानमन्त्री मोदीले आइतबार आफ्ना आमा हिराबेनसँग आशिर्वाद दिएका छन् । 

आइतबार मोदी गुजरातस्थित आमा बस्ने घरमा पुगेर आशिर्वाद लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । समाचारअनुसार आइतबार गुजरात पुगेपछि मोदी पहिला सरदार वल्वभभाई पटेलको मुर्तिमा माल्यापर्ण गरे । त्यसपछि उनी गुजरात भाजपाको कार्यलयमा पुगेर कार्यकर्ताहरुसँग छलफलमा व्यस्त रहे ।

सो क्रममा अध्यक्ष अमित शाह पनि साथै रहेको जनाइएको छ ।  मोदीले त्यहाँ कार्यकर्तालाई सम्बोधन गर्दै गुजरातकै कारण आफु दोस्रो पटक प्रधानमन्त्री बन्ने तयारीमा रहेको बताएका थिए । स्मरण रहोस उनी २०१४ मा गुजरातको मुख्यमन्त्रीबाट सिधै प्रधानमन्त्रीको उम्मेदवार बनेर चुनावमा होमिएका थिए । 

हालै सम्पन्न लोकसभा निर्वाचनमा भाजापा नेतृत्वको एनडीए गठबन्धनले ३५२ सिटमा जित हासिल गरेको थियो । मोदी संसदीय दलको नेता चयन भइसकेका छन् । राष्ट्रपति रामनाथ कोविदले आगामी ३० मेमा प्रधानमन्त्रीको शपथका लागि बोलाइसकेका छन् ।