एजेन्सी । भारतको बिहार स्थित छपरा नगर निगमकी वर्तमान मेयर राखी गुप्ताले आफ्नो कुर्सी गुमाएकी छन् । राज्य निर्वाचन आयोगले गलत प्रतिज्ञापत्र दिएको भन्दै उनलाई पदबाट बर्खास्त गरेको हो ।
शपथ पत्रमा राखीले दुई सन्तान उल्लेख गरेकी थिइन् तर कागजात अनुसार उनका तीन सन्तान छन् । बिहारमा दुईभन्दा बढी सन्तानका अभिभावकले निर्वाचनमा उम्मेदवार बन्न नपाउने कानुन छ । निर्वाचन आयोगले पनि यस विषयमा डीएमलाई कानुनी कारबाही गर्न निर्देशन दिएको छ, त्यसपछि राखी गुप्ताको कठिनाइ बढ्दै गएको छ ।
राज्य निर्वाचन आयुक्त दीपक कुमारले सुनुवाइपछि बिहीबार आदेश जारी गरेका हुन् । उक्त निर्णयपछि छपराको नगरपालिकाको राजनीतिमा हलचल मच्चिएको छ । राखी गुप्ताले आफ्नो प्रतिक्रिया दिँदै यस विषयमा आफू उच्च अदालतमा रहेको बताइन् ।
सन् २०२२ को डिसेम्बरमा राखीले छपरा नगरपालिकाबाट मेयरको चुनाव जितेकी थिइन् । राखी गुप्ता मोडल पनि हुन् सन् २०२१ मा आइ–ग्लामले आयोजना गरेको मिसेस बिहार (विवाहित) प्रतियोगितामा उनी उपविजेता बनेकी थिइन् ।
निर्वाचन आयोगको निर्णय आएलगत्तै मेयरका समर्थकहरु आक्रोशित बनेका छन् र नाराबाजी गर्न थालेका छन् । मेयर राखी गुप्ताले आफ्ना दुई सन्तान मात्रै रहेको, तेस्रो सन्तान धर्मपुत्र भएको बताइन् । यस विषयमा आफू उच्च अदालतको शरणमा रहेको उनले बताइन् । उनले निर्वाचन आयोगले दिएको फैसलालाई सम्मान गर्ने बताइन ।
राखी गुप्तामाथि चुनावका बेला दुईभन्दा बढी सन्तान भएको आरोप लाग्दै आएको थियो । पूर्व मेयर सुनिता देवीका तर्फबाट पर्याप्त प्रमाणसहित राखी गुप्ताविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो । त्यसपछि निर्वाचन आयोगले राखी गुप्तालाई नोटिस जारी गर्दै जवाफ मागेको थियो ।




















