• भूमिप्रसाद पाठक

पथरी,२६  साउन । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ३ आइतबारेस्थित वीरेन्द्रनगर हाटबजारलाई एकाएक बन्द गर्ने प्रयत्नस्वरूप पछिल्ला तीन हप्तायता घीनलाग्दा गतिविधिहरू आरम्भ भएका छन् । प्रारम्भमा आइतबार लाग्ने यो हाटबजार नजिकै रहेको पथरी बजार पनि आइतबार लाग्ने भएकोले स्थानीय समुदाय र तिनका प्रतिनिधिमाझ बनेका उन्नत समझदारीअनुरूप बुधबार गरिएको थियो । 

इलामको चुलाचुलीको सट्टाभर्ना पाएको समुदायको बाहुल्य रहेको यस ठाउँमा सट्टाभर्नासँगै सामुदायिक विद्यालय श्री जनता मावि (श्री पशुपति प्रावि) हालसम्म सञ्चालित छ । झोडाफडनीसँगै सञ्चालित यो विद्यालय, हुलाक सेवा, हाटबजारलगायतका संरचनाहरू छन् । साविक पथरी गाविसमा रहेको एकमात्र हुलाक र सामुदायिक विद्यालयको रूपमा यसलाई लिइन्छ । 

कोरोना महामारीलगायत कतिपय कारणले लामो समयसम्म ठप्प रहेको हाटबजारलाई पछिल्ला केही महिनायता बुधबार सञ्चालनमा ल्याइएको थियो । राम्रोसँग चलेको थियो । स्थानीयको चाहना र व्यापारी वर्गको आकर्षणको केन्द्र बन्दै गएको थियो तर साँझ परेपछि घर फर्कने व्यापारीलाई बाटबाटै ढुकेर केही गलत मनाशय भएका मानिसले तर्साउने, धम्क्याउने र हच्काउने गरेसँगै हाटबजारलाई निस्तेज पार्न खोजिएको देखिन्छ– स्थानीय समाजसेवी एवम् प्रबुद्ध व्यक्तित्व घनश्याम कोइराला बताउनुहुन्छ । 

यहाँ हाटबजार लाग्नु भनेको स्थानीय गहनाको रूपमा विकास हुनु मात्र होइन, राजस्व संकलनमार्फत सरकारको आम्दानीको स्रोत वृद्धि–विकास गर्नु पनि हो । पहिलो कुरा त यसका लागि भयरहित वातावरण हुनु जरुरी छ । यसलाई भयरहित बनाउन स्थानीय पुलिस प्रशासनसमक्ष गुहार माग्दा समेत सुनुवाई नभएको चिकित्सा व्यवसायी समेत रहनुभएका सामाजिक अगुवा कोइराला थप्नुहुन्छ । 

हामी यहिँनेर हुर्कियौं, बढ्यौँ र नजिकै जनता माविमा पढ्यौँ । हातबजार यहाँको पुरानो संरचना हो । केही समयपछि अहिले फेरि सयौं टहरामाझ यो हाटबजार सञ्चालनमा आएको छ । हाटबजार व्यवस्थित सञ्चालन गर्न आम सरोकारवालाको पर्याप्त पुग्न जरुरी छ । समाजका सबैखाले व्यक्ति र शक्तिमाझ सहकार्य हुन जरूरी छ– स्थानीय युवा व्यवसायिक व्यक्तित्व मुक्ति अधिकारी र रमेश खड्का बुधबार लाग्ने गरेको यो हाटबजारको विषयलाई यहाँको विकासको अभिन्न संरचनासँग जोड्नुहुन्छ ।