जनकपुर— जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानियाको हत्यामा जिल्ला अदालत धनुषाले पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टकलालाई मंगलबार जन्मकैदको फैसला गरेको छ । जनकपुर बम विस्फोट मुद्दामा साहलाई गत फागुनमा धनुषा अदालतले नै जन्मकैद हुने फैसला गरेको थियो । जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले सिंघानिया हत्याका योजनाकार पूर्वराज्यमन्त्री साह र सुटर मनक लामालाई जन्मकैदको फैसला सुनाएको हो ।
२०६६ फागुन १७ मा होली पर्वको दिन जनकपुर टुडेका प्रकाशनका सञ्चालक सिंघानियालाई जनकपुरको शिवचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो । सिंघानिया हत्याका बेला साह भौतिक पूर्वाधार राज्यमन्त्री थिए ।
सिंघानिया हत्या मुद्दाको अन्तिम सुनुवाइ तीन दिनदेखि जारी थियो । जिल्ला न्यायाधिवक्ता शम्भु गौतमले सिंघानिया हत्याका आरोपितलाई दण्ड–सजायको माग गर्दै बहस गरेका थिए । साह र अन्य आरोपीका तर्फबाट एक दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए । आरोपी पक्षका कानुन व्यवसायीले सिंघानिया हत्यामा साहको संलग्नता नरहेको दाबी गरेका थिए ।
सिंघानिया हत्यामा ११ जनालाई आरोपी बनाएर अदालतमा मुद्दा पेस गरिएको थियो । हत्या गर्ने क्रममा सुटर लामासँगै रहेका चन्द्रदीप यादव, योगेन्द्र सहनी र पवन लामालाई अदालतले १० वर्षको कैद सजाय तोकेको छ । यस्तै पूर्वराज्यमन्त्री साहका निकट सहयोगी रामविनोद यादवलाई ३ वर्षको कैद सजाय सुनाइएको छ ।


