- सबै पूर्वधारहरुलाई सामन्ती–पूँजीवादीको एकै डालोमा हाल्दै बम र बारुद्धले ध्वंस्त बनाउँदा आज हामी एमसीसी र बीआरआई भन्दैछौं । प्रकृतिले भरीपूर्ण भएपनि आफूलाई चाहिने वस्तु तथा सेवा विदेशबाट आयात गर्नुपरेको छ
- ✍️ सरोजकुमार तामाङ
माक्सवादको अध्ययन गर्नु संकीर्ण बौद्धिक खोपडीलाई तहसनहस गर्दै तार्किक बहसहरुमा अब्बल सावित गर्न मात्र होइन, विद्यमान समाजको वास्तविकताको गहिराइमा पुग्दै त्यसको थप उपचार गर्न पनि हो । जहाँ हजारौं बर्षदेखि दासत्वको प्रांगणमा बाँधिएका ती बोल्ने जनवारको रुप धारण गरेका मुक्तिकामी सर्वहारावर्गको वैचारिक हतियारको रुपमा आफूलाई प्रस्तुत गर्नु पनि एक उदेश्य हो । बहुसंख्यक सर्वहारावर्गको नेतृत्व गर्दै अल्पसंख्यक शासकहरुको बिरुद्ध ऐक्यवद्धता प्रदर्शन गर्नु माक्सवादको नितान्त आन्तरिक गुदी हो ।
पुरानोको ठाउँ नयाँले लिनु मात्रै हामीले परिवर्तन र क्रान्ति भन्ने बुझ्यौं । यो बुझाई आफैमा अपूर्ण र अधुरो रहेको छ । पूर्ण र साश्वत कुरा त के हो भने पुरानोको ठाउँ नयाँले लिदाँ विचारमा र सिद्धान्तमा मात्र होइन, आर्थिक र सामाजिक परिवर्तन पनि हुनुपर्छ होलानी ! विचार र सिद्धान्तले मात्र चल्ने भए आज हामीले ल्याएको ब्यवस्थामा हामी नै किन असन्तुष्टि ?
यसको सिधा र मननयोग्य कुरा भनेकै श्रमजीवी वर्गको लागि भनिने यो ब्यवस्थामा ती सर्वहारावर्गको निम्ति गाँस, बास, कपासलगायत जनजिविकाका सवालहरुमा आर्थिक खाकाहरु हामीले प्रस्तुत गर्न नसक्नु हो । हिजोको सामन्ती, निरंकुश, केन्द्रिकृत र एकात्मक राज्यसत्तामा मात्रै होइन, अहिले पनि जनता त्यही जीवन जिउन चाहिने आधारभूत आवश्यकताका बिषयहरुमै भौंतारिरहेका छन् । यसले गर्दा सत्ता परिवर्तन केवल शासकहरुका लागि भए, जनताका दैंनिकी परिवर्तका लागि हुनसकेन । शोषणका रुपहरु फेरिए, शोषण प्रथाको अन्त्य गर्न सकिएन या भएन ।
’पूँजीवादमा श्रम सामाजिक हुने तर वितरण ब्यक्तिगत हुने’ त्यो श्रमजीवीवर्गको शोषणलाई अन्त्य गर्दै वितरण सामूहिकतामा हुनुपर्ने थियो र त्यसैको लागि जनताले अहिलेका राजनीतिक दलहरुलाई परिवर्तनको निम्ति आन्दोलन र बिद्रोहमा साथ दिएका थिए । तर, ब्यवहार नै ज्ञानको प्रस्थान बिन्दू भन्ने हामी कम्युनिष्टहरुले पनि पूँजीवादी उत्पादनका सम्बन्धहरुलाई समाजवादी उत्पादन सम्बन्धहरुमा रुपान्तरण गर्न दोबाटोमा अलमलिएको यात्री झैं चरित्र देखायौं । हामी क्रान्ति र परिवर्तनको ब्यानरमा राजनीतिक परिवर्तनलाई मात्र प्रधानता ठान्यौं । हुनुपर्ने थियो, ‘आर्थिक र सामाजिक क्रान्ति ।’
जबसम्म जनताको मुलभूत मुद्दाहरुमा राज्यसत्ताले गम्भीरता देखाउँदैन, तबसम्म ऊ जनताको तारो बनिनै रहन्छ । अझ गम्भीर बिषय त के हो भने ती हिजोका सामन्ती र पूँजीवादी उत्पादनका साधनहरुलाई नष्ट गर्दै मुलुकभित्र नयाँ उत्पादन सम्बन्धहरु उत्पादक शक्तिसित जोड्ने कोषिश नै गरेनौं । सिधा अर्थमा भन्नु पर्दा वस्तु तथा सेवाहरु उत्पादन गर्ने कलकारखाना, उद्योग धन्दालाई सामन्ती र पूँजीवादको ट्याँग लगाउँदै नष्ट पारिदा स्वदेशी उत्पादन शून्यमा झर्न पुगे । र, त्यही खाली ठाउँलाई अहिलेका दलाल पूँजीवादले भर्न पुगे ।
हिजोका सामन्ती–पूँजीवादी उत्पादन सम्बन्धको सट्टामा समाजवादी उत्पादन सम्बन्धको विकल्प दिन नसक्नु नै अहिलेको हाम्रो समाज उत्पादनसँग जोडिनुपर्नेमा उपभोक्तामुखी भए । तर, आज हामी यो मुलुकको निकास र विकासको बाधक तत्व दलाल पूँजीवाद भन्दैछौं । ताकि, माक्र्सवादको द्धन्द्धात्मक भौतिकवादको तेस्रो नियम – ’निषेधको निषेध’ले पुरानोको अन्त्य त हो तर ती पुरानोको नकरात्मक पक्षको मात्र अन्त्य गर्दै गुणात्मक पक्षको मात्रात्मक मात्रा बढाउँदै जानु थियो । यो बिषयमा हामीले ध्यानै दिएनौं ।
पुरानोको नकरात्मक र गुणात्मक दुबै पक्षलाई एकै डालोमा हालेर हेर्यौं, जसको परिणाम हामी आज भोग्दै छौं । माओवादी द्धन्द्धकालमा पनि त्यही भयो, जुन नहुनुपर्ने थियो । ती विकासका सबै पूर्वधारहरुलाई सामन्ती–पूँजीवादीको एकै डालोमा हाल्दै बम र बारुद्धले ध्वंस्त बनाउँदा आज हामी एमसीसी र बीआरआई भन्दैछौं । प्रकृतिले भरीपूर्ण भएपनि आफूलाई चाहिने वस्तु तथा सेवा विदेशबाट आयात गर्नुपरेको छ । मुलुक राजनीतिक परिवर्तनको नाममा एकपछि अर्को गर्दै पराधीन हुँदैछ तर चलाएको संघर्ष र आन्दोलनहरु स्वाधीन र स्वशासनको लागि थियो । विचार–सिद्धान्त र मुलुकको वस्तुस्थितिमा एकरुपता नहुदाँको पीडा आज हामी भोग्दैछौं ।


















