काठमाडौं,२० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई ट्रमा सेन्टरको आइसियुमा राखेर उपचार भइरहेको छ । बुधबार साँझ विज्ञप्ति जारी गर्दै राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले उनलाई चिकित्सकको निगरानीमा आइसियुमा राखेर उपचार गरिरहेको जनाएको हो ।

पूर्वमन्त्रीसमेत रहेका सहमहामन्त्री यादवलाई बुधबार दिउँसो अस्पतालमा पुर्याइएको थियो । उनको टाउकोको पछिल्लो भाग तथा गर्धनमा खुकुरी प्रहार भएको थियो । जसकारण गहिरो घाउ भई रक्तश्राव भएको डा. रिजालले बताएका छन् । सिटी स्क्यान गर्दा हालसम्म आन्तरिक चोट नदेखिएको पनि उनले बताए । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

‘उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरोसर्जरी/अर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरूद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ’ विज्ञप्तिमा भनिएको छ ।

बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा नुवाकोट घर भई काठमाडौंको बालाजु बस्ने श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए । प्रहरीले सापकोटालाई तत्कालै पक्राउ गरेको थियो । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।